उपसभामुख रानाले जानकारी गराएरै भ्रमणमा जाने गर्नुभएको छ: सभामुख
सदनको प्रचलित प्रक्रिया र सभामुखको जानकारीविनै उपसभामुख इन्दिरा रानाले वैदेशिक भ्रमण गरेको कांग्रेस र एमालेको दाबी गलत देखिएको छ । सभामुख देवराज घिमिरे र संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले उपसभामुख रानाका भ्रमण प्रक्रिया पुर्याएर र जानकारीमै भएको बताएका छन् । संवैधानिक परिषद्मा बहुमत नपुगेपछि कांग्रेस–एमाले उपसभामुख हटाउने योजनामा लागेका छन् । र, यसका लागि उनीहरूले रानाले भ्रमणमा पदअनुकूल आचरण नगरेको भन्दै उनलाई पदच्युत गर्ने रणनीति बनाएका छन् ।
सभामुख घिमिरेले उपसभामुख राना जानकारी गराएरै र बिदा लिएरै वैदेशिक भ्रमणमा गएको बताए । उनले भने, ‘उपसभामुख बाहिर जाँदा सभामुखलाई जानकारी गराएरै जाने गर्नुभएको छ । यो सबै कार्यक्रमको हकमा हो, यो प्रस्ट हो । यसपालि पनि जानकारी गराउनुभयो र बिदा लिएरै जानुभएको हो । पत्र पनि दिनुभएको छ । मैले राम्ररी भ्रमण गरेर आउनुस्, प्रभावकारी भ्रमण गर्नुस् भनेर शुभकामना दिएको हुँ ।’
संसद् सचिवालयका पूर्वसचिव सोमबहादुर थापा सभामुखलाई जानकारी दिएर गरेको भ्रमणमा प्रश्न उठाउनु सीमित सत्ता स्वार्थ र संवैधानिक परिषद्को अंकगणितका लागि बेमौसमी बाजा भएको टिप्पणी गर्छन् ।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला, एमाले सचिव योगेश भट्टराई र कांग्रेस सांसद रामहरि खतिवडाले सदनभित्र र बाहिर प्रश्न उठाइरहेका वेला सभामुख घिमिरे र महासचिव पाण्डेयले उपसभामुखका भ्रमणबारे प्रतिक्रिया दिएका हुन् । उपसभामुखमाथि दबाब बनाएर सकेसम्म राजीनामा गर्न लगाउने योजनासहित कांग्रेस–एमाले सांसदहरूले भ्रमणको मुद्दा शृंखलाबद्ध उठाएका छन् । कांग्रेस र एमालेले यसका लागि उनीहरूले आफ्ना सांसदहरूको खाली कागजमा हस्ताक्षर गरेका छन् ।
दुवै दलका नेताहरूका अनुसार रानाको वैदेशिक भ्रमणलाई पदअनुकूलको आचरण नगरेको देखाउने र पदबाट हटाउने रणनीति सत्तापक्षको छ । यसैअनुरूप कांग्रेस प्रमुख सचेतक घिमिरे, एमाले मुख्य सचेतक बर्तौला र एमाले सचिव भट्टराईले सदनभित्र र बाहिर भ्रमणबारे प्रश्न उठाएका खबर नयाँ पत्रिकामा छ ।




