रसुवा बाढीकाे बिमा रकम दाबी क्रमिक रूपमा बढ्दै, कसकाे दावी कति ?

मूलखबर संवाददाता
काठमाडौं

गत २३ असारमा रसुवामा अाएकाे बाढीका कारण भएकाे क्षतिमा बिमा रकम दाबी क्रमिक रूपमा बढ्न थालेको छ । गत सातासम्म कुल ८४ करोड ८४ लाख ३० हजार रुपैयाँबो बिमा दाबी रहेकामा अहिले १ अर्बको हाराहारीमा पुगेको हो ।

तिब्बतको भोटेकोशीमा आएको बाढीका कारण नेपाल–चीन सीमामा रहेको मितेरी पुल, भन्सार यार्डमा पार्किङ गरी राखिएका सवारीसाधन बगाएको थियो । यस्तै, रसुवागढी हाइड्रोपावरलगायत संरचनामा समेत बाढीले क्षति पुगेको थियो ।

नेपाल बिमा प्राधिकरणका अनुसार विभिन्न ११ वटा निर्जीवन बिमा कम्पनीमा ७८ वटा दाबीमार्फत कुल ९८ करोड ५९ लाख ८२ हजार १ सय ५६ रुपैयाँ माग गरिएको हो । हालसम्ममा दाबी रकम ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँबराबर पुगेको छ । प्राधिकरणका अनुसार हिमालयन एभरेस्ट इन्स्योरेन्समा दुईवटा दाबीमार्फत सबैभन्दा बढी ५५ करोड रुपैयाँको माग दाबी परेको छ ।

नेपाल बिमा प्राधिकरणका पेस भएको विवरणअनुसार तत्पश्चात शिखर इन्स्योरेन्समा १६ करोड ९६ लाख रुपैयाँको बिमा दाबी परेको छ । यसैगरी, नेपाल इन्स्योरेन्समा ८ करोड ४३ लाख, सानिमा जीआईसीको ५ करोड ८४ लाख रुपैयाँ दाबी परेको तथ्यांक रहेको छ । नेको इन्स्योरेन्समा भने ५ करोड ६७ लाख र सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २ करोड ६५ लाख रुपैयाँ दाबी परेको छ । सम्पत्ति बिमाअन्तर्गत ६ वटा दाबीमा मात्रै ६१ करोड ४७ लाख रुपैयाँबराबरको क्षति माग गरिएको छ ।

प्राधिकरणले सामान ढुवानी बिमितमा मात्रै नौवटा दाबी परेको उल्लेख गरेको छ । जसअन्तर्गत २२ करोड ४ लाख रुपैयाँभन्दा बढीको दाबी परेको छ । इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमाअन्तर्गत पाँचवटा दाबीमा ५ करोड ९५ लाखको दाबी परेको तथ्यांक प्राधिकरणको रहेको छ ।

मोटर बिमातर्फ भने कुल ५८ वटा दाबी परेको छ । निजी र सरकारी सवारीसाधनमा क्षति पुगेको भन्दै ९ करोड १३ लाख रुपैयाँभन्दा बढीको दाबी गरिएको छ प्राधिकरणले सामुद्रिक बिमा नौवटा, इन्जिनियरिङ तथा ठेकेदार जोखिम पाँच, मोटर बिमा (निजी) १६ र मोटर बिमा (अन्य) ४२ वटा दाबी परेको उल्लेख गरेको हो ।

प्राधिकरणका अनुसार परेका कुल ७८ दाबीमध्ये सबैभन्दा बढी मोटर बिमासँग सम्बन्धित छन् । जसमा ४२ वटा सार्वजनिक र १६ वटा निजी गरी कुल ५८ वटा मोटर बिमा दाबी परेका छन् । यसैगरी, सम्पत्ति बिमातर्फ ६, सामुद्रिक बिमातर्फ ९ र इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमातर्फ पाँचवटा दाबी परेको प्राधिकरणले जनाएको छ । विपद् प्राधिकरणका अनुसार बाढीले २४ ट्रक बगाएको थियो । ३५ वटा इलेक्ट्रिक सवारीसाधन बगाएको थियो । ६ वटा सिनो ट्रक बगाएको थियो ।

यसैगरी, दुईवटा पुल बगाएको छ । बाढीले १६ किलोमिटर सडक बगाएको छ । तीनवटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने रसुवावढीस्थित ड्राइपोर्टमा पनि क्षति पुगेको छ ।

नेपाल बिमा प्राधिकरणका अनुसार ११ वटा बिमा कम्पनीबाट कुल ७३ वटा बिमा दाबी भएको छ । सबैभन्दा बढी अर्थात् १५ वटा बिमा दाबी शिखर इन्स्योरेन्सबाट भएको छ । सबैभन्दा बढी दाबी रकम भने हिमालयन एभरेस्ट इन्स्योरेन्सबाट भएको छ ।

हिमालय इन्स्योरेन्सबाट दुईवटा बिमा दाबीका साथ ५५ करोड रुपैयाँ माग भएको छ । शिखर इन्स्योरेन्सबाट भने १६ करोड ९६ लाख ३० हजार रुपैयाँ बिमा दाबी भएको छ । नेकोले ५ करोड ६७ लाख, सगरमाथा लुम्बिनीले २ करोड ६५ लाख, युनाइटेड अजोडले ९१ लाख, आईजीआई प्रुडेन्सियलले ७५ लाख ५० हजार, सानिमा जीआईसीले ६८ लाख, एनएलजीले ४७ लाख, सिद्धार्थ प्रिमियरले ३१ लाख र प्रभु इन्स्योरेन्सले २८ लाख रुपैयाँ बिमा दाबी गरेको जनाएको छ । नेपाल इन्स्योरेन्सले भने ८ करोड ७३ लाख रुपैयाँ बिमा दाबी परेको उल्लेख गरेको छ ।