टेलिकमकाे फाेरजी सेवामा साेमबार किन समस्या आयाे ?

मूलखबर संवाददाता
काठमाडौं, १२ साउन

नेपालकाे एकमात्र सरकारी सञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकमकाे सेवामा साेमबार समस्या देखा पर्याे । सोमबार दिउँसो करिब चार घण्टा नेपाल टेलिकमको फोरजी तथा भोल्टी सेवा अवरुद्ध हुँदा लाखौँ ग्राहक प्रभावित भए ।

पछिल्लो तथ्यांकअनुसार नेपाल टेलिकमका फोरजी ग्राहक संख्या १ करोड ३८ लाख ९५ हजार २ सय २२ छ ।

इन्टरनेट सेवामा समस्या आउँदा देशैभरका टेलिकम ग्राहकलाई असुविधा भएको थियो । साँझ करिब साढे ५ बजेपछि मात्रै समस्या समाधान भएको टेलिकमले जानकारी दिएको थियो ।

टेलिकममा यसअघि पनि पटक–पटक कोर नेटवर्क र बिलिङ प्रणालीमा समस्या आएर सेवा अवरुद्ध हुँदै आएको छ । टेलिकमको कोर नेटवर्क प्रणाली चिनियाँ कम्पनी, हुवावेले बनाएको हो ।

टेलिकमकै कर्मचारी युनियनका नेताहरूले प्रणालीमा पटक–पटक समस्या दोहोरिनु शंकास्पद भएको प्रतिक्रिया दिएका छन् । टेलिकमका प्रणालीहरू भेन्डरको नियन्त्रणमा हुनुलाई उनीहरूले समस्याको मूल कारण भएको प्रतिक्रिया दिएका छन् । टेलिकमका इन्जिनियरले प्रणालीमा पूर्ण पहुँच नपाउने, सबै मर्मत र सञ्चालन भेन्डरकै जिम्मामा हुने भएकाले समस्या पत्ता लगाएर समाधान गर्न गाह्रो पर्ने उनीहरूको भनाइ छ ।

यसको अपरेसन (सञ्चालन) र मर्मत–सम्भारको जिम्मासमेत भेन्डरलाई दिइएको हुँदा टेलिकमका इन्जिनियर र प्राविधिकहरू आफैँले समाधान गर्न सक्ने अवस्था नरहेको टेलिकमका एक अधिकारीले बताए ।