अठासी वर्षीया खुन्तुरीले बल्ल लालपुर्जा पाएपछि

मूलखबर संवाददाता
काठमाडौं, ३२ असार

राईनास नगरपालिका–६ नयाँपौवाकी खुन्तुरी परियारको आँखामा आज चमक देखिएको छ । जीवनका झन्डै नौ दशक काटिसकेकी उहाँ आफ्नो नाममा लालपुर्जा अर्थात् धनीपुर्जा पाएपछि मख्ख देखिनुहुन्थ्यो । उहाँका अनुसार यो एक साधारण प्रमाणपत्र थिएन, यो थियो, राज्यबाट प्राप्त भएको पहिचान, स्वामित्व र अपनत्वको अनुभूति ।

सन् १९३७ (विसं १९९४) को पुस महिनामा साविकको गौंँडा गाविस, ओखरीमा जन्मिएकी खुन्तुरी आज ८८ वर्षको उमेरमा कान्छी छोरीको संरक्षणमा जीवन बिताइरहनुभएको छ । उहाँका श्रीमान्ले दुईवटी बिहे गर्नुभएको थियो । खुन्तुरी कान्छी श्रीमतीको नातामा हुनुहुन्छ । उहाँ कान्छी छोरी र ज्वाइँ बुद्धीबहादुर परियारका साथमा रहँदै आउनुभएको छ ।

उहाँको शरीर उमेरअनुसार थकितभइसकेको छ । उहाँलाई बोल्न मुस्किल छ । कान कम सुन्नुहुन्छ । तर, उहाँका अनुहार उज्यालिएको छ । आज राईनास धमिलिकुवामा आयोजित भूमिहीन दलित र सुकुम्वासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रममा जब खुन्तुरी परियारले गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङको हातबाट लालपुर्जा लिनुभयो, त्यस क्षण उहाँको ८८ वर्षदेखिको सपना पूरा भयो ।

“कति पटक त अस्पताल जान पनि नागरिकता र ठेगानाको प्रमाण खोजिन्थ्यो । मेरो ठेगाना भन्न मिल्ने कागज नै थिएन,” कान्छा ज्वाइँ बुद्धिबहादुर परियारले खुन्तुरीको तर्फबाट भन्नुभयो । उहाँले भन्नुभयोे, “बुढी आमा आज धेरै खुसी हुनुहुन्छ, उहाँका आँखाबाट आँसु झरेको मैले देखेँ ।”

बुद्धिबहादुरले थप भन्नुभयो, “लालपुर्जा नहुँदा गरिबीको पीडा मात्रै होइन, सामाजिक अपहेलना पनि भोग्नु प¥यो । साह्रै थोरै आम्दानी । न आफ्नो नाममा जमिन । यस्तो अवस्थामा जीवनका धेरै निर्णय अरूको अनुमतिमा सीमित रहन्थे । उहाँको नाममा केही थिएन ।”

भूमि समस्या समाधान आयोग जिल्ला समितिको समन्वयमा राईनास नगरपालिका–६ माबुधबार १६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको हो । आयोगका अनुसार खुन्तुरी परियार जस्तो अवस्थामा रहेका ७२ मध्ये १६ जनालाई पहिलो चरणमा १९१ दशमलव ०४ वर्गमिटर सार्वजनिक पर्ति जमिन उपलब्ध गराइएको छ ।

खुन्तुरी परियारको जीवन अब परिवर्तनको मोडमा पुगेको छ । आफ्नै नाममा लालपुर्जा पाउनु उहाँको आत्मसम्मान र सामाजिक अधिकारको पुनःस्थापना जस्तै हो ।