जनता खानेपानी नपाएर तडपिने, सरकार टुलुटुलु हेरेर बस्ने ?

मूलखबर संवाददाता
काठमाडौं, ३० असार ।

प्रतिनिधिसभा सदस्य उर्मिला माझीले देशभर र विशेष गरी तराईका जिल्लाहरुमा देखिएको खानेपानी को समस्या ततकाल समाधान गर्न सरकारसँग माग गरेकी छिन् । सोमबारको प्रतिनिधिसभको बैठकमा शुन्य समयमा बोल्दै माओवादी केन्द्रकी सांसद माझीले जनता खानेपानी पिउन नपाएर तड्पीने अवस्थालाई सरकारले टुटुटुलु हेरे बसेको र वेवास्ता गरिरहेको आरोप लगाइन् । उनले संसदमा लगातार खानेपानी समस्याको बारेमा कुरा उठिरहेको भएतापनि सरकारले कानमा तेल हालेर बस्नु विडम्बनापुर्ण भएको बताइन् ।
उनले भनिन् –अहिले देशका विभिन्न भागहरुमा र विशेष गरी तराइका जिल्लाहरुमा खानेपानीको हाहाकार देखिएको छ । नागरिकहरु खानेपानी पाउनकै लागि लाइन लागेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ । रित्ता गाग्री लिएर प्रदर्शन गरिरहेका छन् । संसदमा लामो समयदेखि खानेपानीको समस्याबारे कुरा उठीरहेको छ । सरकार कानमा तेल हालेर बसेको छ ।
उनले नीति कार्यक्रम र बजेटमा सबै जनतामा खानेपानी पुर्याउने कुरा गरेको सरकारले सुगम शहरमा समेत हप्तौंसम्म खानेपानी नपाएका जनताको समस्या समाधान नगरेर जनता खानेपानी नपाएर पिल्सीनुपर्ने अवस्था भएको बताइन् ।
त्यसैगरी उनले बजेट समयमै कार्यन्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् । उनले बजेट कार्यान्वयनमा सरकार गम्भीर नदेखीएको पनि बताइन् । उनले समयमै टेण्डर नहुँदा बजेट फ्रिज हुने, काम अधुरो रहने र जनताको अपेक्षा ध्वस्त हुने बताइन् । सांसद माझीले बजेट भदौभित्र कार्यन्वयन शुरू गरेर, मंसिरभित्र अनिवार्य रूपमा टेण्डर गरी बैसाख सम्म काम सम्पन्न गर्नको लागि सरकारले निर्देशन जारी गर्नुपर्ने बताइन् । उनले भनिन् – चैतमा टेण्डर गर्ने, जेठमा काम शुरू गर्ने र असारमा भद्रगोल गरेर सक्ने प्रचलन र विकास रोकीयोस् ।