त्रिविविमा प्रम ओलीकाे ठाडो हस्तक्षेप, राेकीयाे सिनेट बैठक पनि

मूलखबर संवाददाता
काठमाडौं, २२ असार

प्रधानमन्त्री केपी ओलीकाे ठाडो निर्देशनमा नेपालकै सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयकाे सिनेट राेकिएकाे छ ।

प्रधानमन्त्री ओली स्पेन भ्रमणमा रहेकाले असार शुक्ल नवमी (शुक्रबार) मा हुनुपर्ने बैठक आइतबारका लागि तय गरिएको थियो । असार १ मा उनले नै असार २२ मा वार्षिक सभा बैठक डाक्नु भनी त्रिविको पत्रमा तोक लगाएका थिए । अहिले प्रधानमन्त्री ओलीकै आग्रहमा सभा स्थगित गरिएको निमित्त उपकुलपति खड्ग केसीले बताए ।

त्रिविको आगामी वर्षको बजेट र शैक्षिक उपाधि प्राप्त ९० हजार विद्यार्थीको सूची (ग्रेस लिस्ट) पारित गर्न डाकिएको बैठक प्रधानमन्त्री ओलीकाे ठाडाे निर्देशनपछि रोकिएको हो ।

बैठकका लागि निम्तासमेत बाँडिएको थियो । सभामा सहभागी हुन उपत्यकाबाहिरका प्राध्यापक सदस्य आइसकेका थिए । तर, प्रधानमन्त्री आइतबार पुल उद्घाटन गर्न हुम्ला जाने कार्यक्रम रहेकाले बैठक स्थगित गरिएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीले त्रिभुवन विश्वविद्यालयकाे हरेक क्षेत्रमा हस्तक्षप बढाएका छन् । उनलेे अघिल्लो प्रचण्ड नेतृत्वको सरकारले मेरिटाेक्रेसीकाे आधारमा छनाैट भएका उपकुलपति प्रा.डा. केशरजंग बराललाई दबाब दिएर राजिनामा दिन बाध्य बनाए भने अझैसम्म उपकुलपति छनाैट हुन दिएका छैनन् । यस अघिकाे त्रिवि सभामा पनि भाँडभैलाे गरेका थिए ।

देशकाे प्रमुख कार्यकारी पद धारण गरेका व्यक्तिबाट त्रिभुवन विश्वविद्यालयमा भइरहेको अनावश्यक हस्तक्षेपले त्रिविको साख र गुणस्तर निरन्तर खस्किने अवस्थामा पुगेकाे छ ।