बेसीशहर नगरपालिकामा ७५ करोड ४८ लाख २० हजार रुपैयाँको बजेट, प्राथमिकता के मा ?
लमजुङको बेसीशहर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि ७५ करोड ४८ लाख २० हजार रुपैयाँको बजेट पेश गरिएको छ । नगरपालिकाको सोमवार बेसीशहरमा भएको नगरसभा तथा १७ औँ अधिवेशनमा उपप्रमुख पद्मा गुरुङले आ.व. २०८२\०८३ को नीति, कार्यक्रम तथा बजेट बजेट पेश गर्नुभएको हो ।
प्रस्तुत बजेटको चालु तर्फ ४७ करोड ८१ लाख (६३.३४ प्रतिशत) र पुँजीगत तर्फ २७ करोड ६७ लाख २० हजार (३६.६६ प्रतिशत) रहेको छ । यो बजेट चालु आर्थिक वर्ष २०८१\०८२ को भन्दा एक करोड ४७ लाख ३३ हजार रुपैयाँ कम रहेको छ ।
प्रस्तुत गरिएको बजेटमा खर्च व्यहोर्ने स्रोतहरुमा संघीय समानीकरण अनुदानबाट १३ करोड आठ लाख, संघीय राजश्वबाट १० करोड सात लाख, आन्तरिक आय तथा स्थानीय राजश्वबाट आठ करोड पाँच लाख ६५ हजार, प्रदेश सरकारबाट चार करोड २१ लाख ५५ हजार, संघीय समपूरक विशेष अनुदान तथा अन्यबाट ३ करोड २९ लाख रहने प्रक्षेपण गरिएको छ ।
बजेटमा कृषि, पशुसेवा, स्वास्थ्य, शिक्षा, स्वरोजगार, पर्यटन, महिला, बालवालिका, जेष्ठ नागरिकसँग सम्बन्धित कार्यक्रम चालु वर्षमा प्रभावकारी भएकोले आगामी वर्षमा पनि नीति तथा कार्यक्रममा जोड दिइएको छ ।
बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालको अध्यक्षता तथा सञ्चालनमा भएको नगरसभामा चालु वर्षमा भएका उपलब्धिका बारेमा समेत उपप्रमुख गुरुङले जानकारी गराउनुभएको थियो । चालु वर्षमा कुल पाँच सय ५३ वटा योजना रहेकोमा पाँच सय छ वटा सम्पन्न भएको छ ।
चालु बर्षमा मात्र एक सय ५० जनालाई स्वरोजगामूलक तालिम प्रदान गरिएको, चालु बर्षमा ९५ बर्षका जेष्ठ नागरिक र जेष्ठ नागरिक, दीर्घरोगी तथा अपाङ्गता भएका व्यक्तिहरुको सेवामा समर्पित भएका ५० जना परिवारका सदस्यलाई सम्मान गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । चालु बर्षमा न्यायिक समितिमार्फत ४५ उजुरीमध्ये २१ वटा उजुरी फस्र्योट भएको उल्लेख गरिएको छ । बैदेशिक रोजगारी गएर ठगि, मृत्यु तथा क्षतिपुर्ति र स्वास्थ्य उपचार वापत पाउनु पर्ने रकम एक करोड चार लाख ८० हजार आप्रवासी स्रोत केन्द्रको पहलमा पीडितलाई उपलब्ध गराईएको उपप्रमुख पद्मा गुरुङले जानकारी गराउनुभयो ।




