आदिवासी जनजाति महिलाकाे क्षमता र नेतृत्व विकास तालिम सम्पन्न

मूलखबर संवाददाता
काठमाडौं, ९ असार

आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानकाे मुख्य आयोजनामा र सहयाेगी महिला समाजकाे संयाेजनमा “आदिवासी जनजाति महिलाकाे क्षमता र नेतृत्व विकास” विषयक दुई दिने तालिम सफलतापूर्वक सम्पन्न भएकाे छ।

काठमाडौंकाे जडिबुटीस्थित राजमहल ब्यांक्वेटमा तालिम असार ७ र ८ गते सम्पन्न भएको साे कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा आदिवासीजनजाति अभियन्ता शुरेश कुमार आलेमगर प्रमुख अतिति रहनुभएकाे थियाे ।

कार्यक्रम उदघाटन सत्र र तालिम सत्र गरी सम्पन्न गरिएको थियाे । उदघाटन सत्रमा प्रतिनिधिसभा सदस्यहरू उर्मिला माझी, मिना तामाङ, संविधानसभा सदस्य गंगा पराजुली र समिता कार्की अतिथिका रूपमा सहभागी हुनुभएको थियाे ।

कार्यक्रमको संयोजक लक्ष्मी देवी गुरूङले उद्घाटन सत्रमा सहभागीहरूको स्वागत गर्दै तालिमको उद्देश्यबारे जानकारी गराएकी थिइन्। तालिममा आदिवासी महिला नेतृहरूलाई आदिवासीजनजातिकाे इतिहास, आन्दोलन, पहिचान, संवैधानिक व्यवस्था, नेतृत्व, संचार सीप, र निर्णय क्षमताका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

प्रशिक्षकका रूपमा राष्ट्रिय सभा सदस्य शुरेश आले मगर, पत्रकार सन्तोष पौडेल र संविधानसभा सदस्य लक्ष्मी देवी गुरूङले प्रशिक्षण दिएका थिए ।

प्रमुख प्रशिक्षक शुरेश आले मगरले आदिवासीजनजातिकाे इतिहास र पहिचानसहित नेतृत्व विकासबारे तालिम दिनुभएको थियाे भने अर्का प्रशिक्षक पाैडेलले संचार, अभिव्यक्ति र प्रभावकारी संवादका तरिका, नेतृत्वका गुण, सामाजिक सञ्जाल र महिलाकाे क्षमता विकासबारे तालिम दिनुभएको थियाे । त्यसैगरी अर्का प्रशिक्षक गुरूङले महिला सशक्तीकरण, संघीयताको संरचनामा आदिवासी जनजाति महिलाको प्रतिनिधित्व, संवैधानिक व्यवस्था, अधिकार र अवसरका विषयमा तालिम दिनुभएकाे थियाे ।

कार्यक्रममा काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाबाट आएका महिला सहभागीहरूले नेतृत्वको क्षेत्रमा आवश्यक ज्ञान र सीप प्राप्त भएको अनुभव सुनाएका थिए। उनीहरूले तालिम छोटो भए पनि अत्यन्तै उपयोगी रहेको प्रतिक्रिया दिएका थिए ।
तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै आयोजक संस्थाले भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।