राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ सम्पन्न, ३० हजार बढिले हेरे ६५० बढी कलाकारका कला

मूलखबर संवाददाता
काठमाडौं

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकाे आयाेजनामा सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने नाराका साथ ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ सम्पन्न भएको छ ।

सातै प्रदेशका ६५ जिल्लाका ६ सय बढी कलाकारका ६ सय ५० कलाकृति राखिएको प्रदर्शनी ३० हजार भन्दा बढीले अवलोकन गरेका छन् ।

प्रदर्शनीमा समसामयिक चित्रकला/मूर्तिकला, परम्परागत चित्रकला/मूर्तिकला, वास्तुकला तथा लोककला, शिल्पहस्तकला एवं बहुआयामिक तथा अन्य सिर्जनात्मकलगायत विविध विधा–उपविधाका कलाकृति राखिएको थियाे । जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर शुरू भएको प्रदर्शनी जेठ ३० गतेसम्म चलेको थियाे । प्रदर्शनीमा  कलापारखी, राजनीतिज्ञ, बुद्धिजीवी, आमजनसाधारण गरी ३० हजार बढीको उत्साहजनक उपस्थिति रहेको प्रतिष्ठानका सदस्य सचिव देबेन्द्र थुम्केलीले जानकारी दिनुभयाे ।

प्रदर्शनीले नेपाली ललितकलाको अवस्थालाई नजिकबाट नियाल्न मद्दत मिलेको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताउनुभयो ।

प्रतिष्ठानका उपकुलपति एवं राष्ट्रिय ललितकला प्रदर्शनीका कार्यकारी संयोजक लालकाजी लामाले राष्ट्रिय ललितकला प्रदर्शनीले नेपालको ललितकलाको बहुआयामिकतालाई चिनाउन सफल भएको बताउनुभयो ।

प्रतिष्ठानले अनुसन्धान, सिर्जना र सम्मानसँगै ललितकला क्षेत्रको संरक्षण, संवर्धन एवं सर्वाङ्गीण विकासार्थ विशेष रणनीतिक योजनासाथ सिर्जनात्मक क्रियाकलापहरू गर्दै/गराउँदै आएको छ ।