आलमलाई सफाई दिने न्यायाधीशलाई बहुमतले कालाेमाेसाे छ्याप्याे, ३ जना पक्राउ
मानिसलाई जिउँदै इटाभट्टामा हालेर जलाएकाे अभियाेगमा जेलमा रहेका कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनलाई कालाे माेसाे दलिएकाे छ ।
धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) का कार्यकर्ताले बिहीबार दिउँसो करिब ४ बजे इजलासमै कालोमोसो छ्यापेका हुन् ।
घटनालाई लाईभ गरेका उनीहरूलाई घटनामा संलग्नताको आरोपमा ३ जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सिरहा गोलबजारका गर्भु महतो, सर्लाही बरहथवाका पदमबहादुर मगर र प्यूठानका अविनाश भन्ने किशोर कुमार छन् । उनीहरूले सामाजिक सञ्जालबाट मोसो छ्यापेको लाइभसमेत गरेका थिए । त्यसपछि इजलासबाट बाहिरिएका तीनै जनालाई अदालत परिसरबाट प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी किशोर लम्सालका अनुसार पार्टीको निर्देशनमा आएको बताउँदै उनीहरू इजलासमा प्रवेश गरेका थिए । त्यसपछि कफी खाने मगमा ल्याएको मसी न्यायाधीशद्वयलाई छ्यापेका थिए ।




