गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्दैन : अनन्त

मूलखबर संवाददाता
काठमाडौं, १९ जेठ

नेकपा माओवादी केन्द्रका नेता तथा पुर्व मन्त्री वर्षमान पुन अनन्तले भिजिट भिषा प्रकरणमा नाम मुछिएको कारण गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान माओवादीले कायमै राखेको बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गृहमन्त्रीमाथि प्रश्न उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्दा नै उपयुक्त हुने बताए।

उनले गृहमन्त्रीले पठाएको बदनाम सहसचिव विमानस्थलमा जाने, अख्तियारले छापा मार्न लागेपछि फिर्ता बोलाउने र सचिवालयका मान्छेहरू यस्तै मुद्दामा परेकाहरू हुनेजस्ता अस्वाभाविक प्रक्रियाले गृहमन्त्रीलाई विवादमा तानेको बताए।

उनले राजीनामा विपक्षी दलले मात्रै नभएर आम नागरिकले समेत मागिरहेको बताए। उनले भिजिट भिसा प्रकरणमा सेटिङ, भ्रष्टाचार र अनियमितता भएको स्पष्ट तथ्य स्थापित भएको बताउँदै गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने उल्लेख गरे।

भिजिट भिसा तथा रकम असुली प्रकरणमा मुछिएपछि विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गर्दै आएका छन्।