महाधिवेशन ०८२ मंसिरभित्र नभए कांग्रेस कमजोर हुँदै जान्छ : कोइराला

मूलखबर संवाददाता
काठमाडौं

नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै हुनुपर्ने बताएका छन्।

नेपाली कांग्रेस मोरङ–काठमाडौं सम्पर्क समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा कोइरालाले महाधिवेशन ०८२ मंसिर मसान्तभित्र नभए पार्टी कमजोर हुँदै जाने बताए। महाधिवेशन समयमै गर्न सबैले आवाज उठाउनुपर्ने उनको भनाइ छ।

‘महाधिवेशन ०८२ मंसिरभित्र नभए कांग्रेस कमजोर हुँदै जान्छ। त्यतातिर ध्यान दिनुपर्छ, यो एकदम संवेदनशील कुरा हो,’ नेता कोइरालाले भने। उनले राजनीतिक दल र नेतृत्वप्रति जनताको वितृष्णा बढेको भन्दै जनताको निराशालाई हटाउन जरुरी भएको धारणा राखे।

नेता डा। कोइरालाले कांग्रेस जनताको पार्टी भएकाले कांग्रेसप्रति नागरिकको विश्वास कायमै रहेको जिकिर गरे। जनतासँग गरेका वाचा पूरा गर्न अग्रसर हुनुपर्ने बताउँदै उनले नेतृत्व नसुध्रिए अप्ठ्यारो परिस्थिति सिर्जना हुने औँल्याए।

‘नेपाली कांग्रेस जनताको पार्टी हो। नेपाली कांग्रेसलाई अहिले पनि जनताले विश्वास गर्छन्। तर, हामी सुध्रिनुपर्‍यो। जनतासँग गरेका वाचाहरूलाई पूरा गर्न अग्रसर हुनुपो। त्यो गरेनौँ भने अप्ठ्यारो परिस्थिति सिर्जना हुन्छ,’ नेता डा। कोइरालाले भने। कांग्रेसको ध्यान सत्ता र सरकारकेन्द्रित भइरहेको उनको भनाइ थियो। रासस