
यस वर्षको महामूर्ख बने मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह
यस वर्षको महामूर्खको उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिएको छ ।
होली पर्वका अवसरमा जनकपुरधाममा मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’ को दोस्रो दिन आज मुख्यमन्त्री सिंहलाई महामूर्खको उपाधि प्रदान गरेको हो । मुख्यमन्त्री सिंहले स्वास्थ्य क्षेत्रमा गरेका कार्यहरूको प्रशंसा गर्दै उहाँलाई ठट्टास्वरुप महामूर्खको उपाधि प्रदान गरिएको हो ।
होलीका अवसरमा मिनापले हरेक वर्ष यो सम्मेलन आयोजना गर्दै आएको छ । कार्यक्रममा हास्यव्यङ्ग्य र सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिनुका साथै कला र संस्कृतिको संरक्षणमा योगदान पुर्याउँदै आएको छ । होली पर्वको पौराणिक गाथा, ख्यालठट्टा र मैथिली भाषामा गाइने जोगिरा गीतको संरक्षण गर्न यो कार्यक्रम २०६१ सालदेखि आयोजना भइरहेको छ ।
विसं २०६१ मा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, विसं २०६२ मा तत्कालीन नेकपा (एमाले)का नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, २०७० मा तमलोपाका वरिष्ठ नेता डा विजयकुमार सिंह, २०७१ मा नेता शत्रुधन महतो, २०७२ मा श्मशानघाटको स्वरूप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिङ्घानीयालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।
