जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल पितासहित २९ जना सम्मानित

मूलखबर संवाददाता
गोरखा, १४ फागुन ।

जनयुद्धको पहिलो सहादत भएको दिनको स्मृतिमा वलिदान दिवस मनाउँदै बारपाक सुलिकोट गाउँपालिकाले जनयुद्धुका प्रथम सहिद दिलबहादुर रम्तेलका बुबा सेते रम्तेलसहित २९ जनालाई सम्मान गरेको छ ।

बुधबार बारपाक सुलिकोट–८ जराङमा भएका जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको २९ औं स्मृति दिवसको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । सहिद परिवार २७ जना, १ जना वेपत्ता योद्धाका परिवार र १ जना घाइतेलाई नगद १० हजारको साथमा दोसल्ला ओडाएर सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले जानकारी दिए । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, गाउँपालिका अध्यक्ष विष्णु भट्ट लगायतले उनीहरुलाई सम्मान गरे ।

सोही अवसरमा ‘बलिदानको जागमा आजको परिवर्तन’ विषयक वक्तृत्वकला प्रतियोगिता पनि भएको थियो । प्रतियोगितामा शैलीपुत्री माविका युनिक पेनरु पहिलो, अन्तरज्योति माविका दिपिका सुनार दोस्रो, माझथर माविका एन्जीला सुनार तेस्रो तथा हिमालय मावि बारपाककी रिजु घले र दुर्गा मावि रन्चोकको वुभागी गुरुङ सान्त्वना बनिन् । उनीहरुलाई क्रमशस् ३ हजार, २५ सय, दुई हजार दुई सय ५० र २र२ हजार नगद पुरस्कार दिइएको थियो ।

सो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व उपराष्ट्रपति पुनले माओवादी आन्दोलनलाई बदनामका लागि आक्रमणको कोसिस भइरहेको बताए ।

‘गणतन्त्रमाथि चौतर्फी हमला भइरहेको छ, चिहानमा पुगेको सिनोहरु फेरि जाग्ने, जुर्मुराउने र प्राण भर्ने कोसिस गर्दै छन्,’ उनले भने,‘ प्रजातन्त्र दिवसमा आएका वक्तव्य हेरिरहनुभएको छ, पढिराख्नुभएको छ ।’

प्रतिमागी सोच चिन्तन भएका गणतन्त्र मन नपराउने ठूला दल भित्रका प्रतिगामी सोच, प्रवृत्ति भएका तप्काले माओवादी आन्दोलनलाई कसरी बदनाम गर्न सकिन्छ भनेर आक्रमण गर्ने कोसिस गरेको उनले बताए । ‘चिन्ता लाग्छ, गणतन्त्रलाई कसरी हत्या गर्न सकिन्छ, समानुपातिक, समावेशी कसरी खोस्न सकिन्छ भन्ने प्रवृत्ति हाबी हुँदै गएको छ,’ उनले भने,‘गणतन्त्रमाथि आक्रमण गर्ने थुप्रै शक्ति जुर्मुराउन थालेका छन्, ती सबै दिवा सपना हो । खबरदार, त्यो कोसिस नगरियोस्, नेपाली जनसुमदाय प्रतिगमनको पछि लाग्न चाहँदैनन्, समाजवादमा पुग्न चाहन्छन्, संविधानले निर्दृष्ट गरेको बाटोमा अघि बढ्न चाहन्छन् ।’ लोकतान्त्रिक गणतन्त्रमार्फत अन्तिम लक्ष्य नभएको भन्दै पुनले समाजवादी लक्ष्यमा पुग्न ठूलो आँधीबेहरी, तुफानसँग जुध्नुपर्ने उनले बताए ।

समाजवादी गणतन्त्रसम्म पुग्ने लक्ष्य प्राप्तिका लागि आगामी दिनमा माओवादी पार्टी सँगै रहेर अघि बढ्ने पनि पुनले बताए । पुनले सहिद र बेपत्ता योद्धाको सपना अझै पूरा नभएको बताए । ‘विरोधी शक्तिहरु त्यहाँ गएर के बोल्यो भनेर कान ठाडो पारिरहेका छन्,’ उनले भने,‘खुसी लागेको छ, आजबाट सुरु भएको सहिद सप्ताहको दुईरतीन वटा कार्यक्रममा अझै जान्छु, किनकि मेरो लक्ष्य पूरा भएको छैन, समाजवादी गणतन्त्रसम्म पुग्ने सहिदरुको सपना पूरा भएको छैन, लक्ष्य पूरा गर्न आगामी दिनमा तपाईंहरु सँगै रहन्छु, नेकपा माओवादी पार्टी सँगै रहँदै अघि बढ्ने प्रतिबद्धता गरेको छु ।’