
सबैभन्दा होचो स्थानबाट माओवादीको जागरण अभियान शुरु हुँदै, प्रचण्डले नेतृत्व गर्ने
प्रमूख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले नेपालको सबैभन्दा होचो स्थल केचनाकबलबाट जागरण अभियान शुरु गर्ने भएको छ । माओवादी केन्द्रको पछिल्लो केन्द्रीय समितिको बैठकले गरेको निर्णय अनुसार हुलाकी मार्गकेन्द्रित तराई–मधेस जागरण अभियान झापाको कचनकबलबाट सुरू गर्ने कार्यतालिका सार्वजनीक गरेको हो ।
अभियानको नेतृत्व पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै गर्ने र अभियानभर प्रचण्ड सँगै रहने माओवादीले जनाएको छ । गत पुसको २१ गतेदेखि २३ गतेसम्म बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुरूप फागुन १२ गतेबाट अभियान सुरू गर्ने गरी माओवादीले मातहतका समितिमा परिपत्र गरिएको छ । अभियान चैत ७ गते कञ्चनपुर पुगेर सकिने छ।
माओवादी केन्द्रले अभियानमा जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट लगायत कार्यक्रम हुने बताएको छ।
टोलीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरूका साथै सांस्कृतिक टोली रहनेछन्। सम्बन्धित प्रदेशक, जिल्लाका पार्टीका नेता, जनवर्गीय संगठनका नेताहरू पनि रहनेछन्।
कोशी प्रदेशमा झापा, मोरङ, सुनसरीमा कार्यक्रम हुनेछ। मधेसमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सामा नै कार्यक्रम हुनेछ। बागमती चितवन, गण्डकीमा नवलपुर, लुम्बिनीमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँकेमा कार्यक्रम हुनेछ। सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा कार्यक्रम गरिने माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रले वैशाखमा पुष्पलाल मध्यपहाडी राजमार्गकेन्द्रित पूर्व–पश्चिम जागरण अभियान गर्ने पनि तयारी गरेको छ।
