पढेर फर्कँदै गरेकी १४ वर्षीय बालिका धनगढीमा बलात्कृत

मूलखबर संवाददाता
धनगढी, २७ माघ ।

सुदुरपश्चिम प्रदेशमा फेरी एक स्कूले बालिका बलात्कारमा परेकी छिन् । सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा एक किशोरीमाथि बलात्कार भएको हो । बाजुराबाट अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया बालिकामाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।

धनगढीमा बसेर अध्ययन गर्दै आएकी किशोरीमाथि गत बिहीबार साँझ जबरजस्ती करणीमा परेकी हुन् ।

प्रहरीका अनुुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । त्यसपछि उनी धनगढीकै १८ वर्षीय युवकसँगै उनको घर पुगेकी थिइन् ।

किशोरीमाथि घरमै जबरजस्ती करणी गरेर युवक भागेका छन् । पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले शनिबार साँझ मात्र किटानी जाहेरी प्राप्त भएको बताए ।
कन्चनपुरमा १४ वर्षीय बालिका निर्मला पन्तको बलातकारपछि हत्या भएको घटनापछि पनि थुप्रै वालिकाहरु सुदुरपश्चिम प्रदेशमा वलात्कारमा परिरहेका छन् । निर्मला पन्तको हत्याराको खोजी जारी रहेपनि अझैसम्म दोषी पत्ता लाग्न सकेको छैन ।