
पुर्वमन्त्री पुनले मागे गृहमन्त्रीसँग स्पष्ट जवाफ माग
नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा प्रतिनिधि सभा सदस्य वर्षमान पुनले अन्तरजातीय विवाह गर्ने दलित युवामाथि भएको अत्याचारको विषयमा गृहमन्त्रीसँग स्पष्ट जवाफ माग गरेका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले समाचारमा सत्यता नरहेको दोहोर्याउनुबाहेक थप जवाफ नदिएपछि पुनले स्पष्ट जवाफ मागेका हुन्।
लेखकले आफू र आफ्नो पार्टी कांग्रेस कुनै पनि प्रकारका छुवाछुत र जातीय विभेदको विरुद्धमा रहेको भन्दै अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु आफ्नो जीवन र आदर्शको अवमूल्यन भएको बताएका थिए। पीडित जोडीको गुनासो सम्बोधन गर्ने र सम्पूर्ण सुरक्षाको प्रत्याभूति दिने कुरामा गृह मन्त्रालय प्रतिबद्ध रहेको उनकाे भनाइ थियाे।
गृहमन्त्रीले घटनाबारे स्पष्ट जवाफ नदिएको भन्दै माओवादी सांसद पुनले भने, ‘सर्लाहीको जोडी सत्येन्द्र र नेहाको वैवाहिक प्रश्नमा गृहमन्त्रीजीले उठेका प्रश्नहरूको जवाफ दिनुभयो। तर, एउटा कुराको जवाफ आएन कि भारत पुगेर एकजना एसपी र एक हवल्दारसहितको टोलीले गिरफ्तार गरेर ल्याएको, त्यसमा गृहमन्त्रीजीको संलग्नता भएको भन्ने कुराहरू उठेका छन्। त्यसबारेमा जवाफ आएन।’
