रास्वपा सभापति लामिछाने रूपन्देही जिल्ला अदालतमा आज आफैं हाजिर हुँदै

मूलखबर संवाददाता
काठमाडौं, ९ माघ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने भैरहवा पुगेका छन् । बुटवलको सुप्रिम सहकारी मुद्दामा प्रतिवादी बनाइएका उनी बुधबार रुपन्देही जिल्ला अदालतमा हाजिर हुन मंगलबार काठमाडौंबाट रूपन्देही पुगेका हुन् ।

सरकारी वकिल कार्यालयले सुप्रिमको मुद्दामा आइतबार रविसहित १४ जनाविरुद्ध पूरक अभियोग दर्ता गरेको थियो । सुरुमा उक्त सहकारीको बचत अपचलन गरेको अभियोगमा २२ जनाविरुद्ध मात्र सहकारी ठगी मुद्दा दर्ता गरिएकोमा रविसहितको नाम जोडिएपछि संगठित अपराधसमेत गरी पूरक अभियोग लगाइएको हो । तर, थप कुन प्रमाण भेटिएका कारण पूरक अभियोग दायर गरिएको भन्ने केही आधार देखिएको छैन ।

लामिछानेको नाममा नक्कली ऋणी खडा गरी सुप्रिम सहकारीबाट दुई करोड रुपैयाँ गोर्खा मिडियामा लगिएको आरोप सम्बन्धमा संसदीय छानबिन विशेष समितिले छानबिन गरेको थियो । समितिले यसमा लामिछानेको संलग्नता नदेखिएको जनाएको थियो । तर, अहिले सोही ऋणलाई बिगो बनाएर अभियोग लगाउनु राजनीतिक प्रतिशोध भएको रविपक्षीय कानुन व्यवसायीहरूको आरोप छ ।