बामदेब एक्लै एमाले फर्किँदै, दुइतिहाई केन्द्रीय सदस्यले छाडे साथ
लामाे समयदेखी ओेलीविराेधी वाम एकता भन्दै छुट्टै पार्टी र अभियान चलाएका बामदेव गौतम अन्ततः एक्लै एमाले फर्कने भएका छन् । वामदेव नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान विभाजित भएकाे छ । उनको पार्टीको दुइतिहाई बहुमत समूह माओवादीसँग एकता गर्ने निर्णयमा पुगेपछि उनी केही सदस्य लिएर निसर्त एमालेमा जान लागेका हुन् ।
अध्यक्ष वामदेव गाैतम एकीकृत समाजवादीमा जाने भनिएपनि प्रकृया अघि नबढेपछि उनी एमाले प्रवेशकाे तयारीमा लागे । तर उनका अन्य नेता कार्यकर्ता भने माओवादी प्रवेश गर्ने भएका छन् । उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बहुमत केन्द्रीय समिति सदस्य वामदेवबाट अलग्गिएको छ ।
आज (आइतबार) रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरूले नेकपा एकता राष्ट्रिय अभियान परित्याग गरेको घोषणा गरे । अर्याल नेकपा एकता राष्ट्रिय अभियानमा लुम्बिनी प्रदेश इन्चार्ज थिए ।
त्यस्तै कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेस प्रदेश इन्चार्ज हरि काफ्लेले वामदेवको साथ छाडेका छन् । उनीहरूले एकता र समायोजनको लागि विचार मिल्ने नेकपा (माओवादी केन्द्र) लगायतका विभिन्न वामपन्थी दलसँग वार्ता गर्ने गरी ४ सदस्य वार्ता समितिसमेत गठन गरेका छन् ।
वार्ता समितिको संयोजक अर्याल रहेका छन् भने काफ्ले, सुब्बा र भट्टराई उक्त समितिमा सदस्य रहेका छन् । वामदेव निःशर्त ढङ्गले एमालेमा प्रवेश गर्नुपर्छ भन्ने ढङ्गले अगाडि बढेपछि विभाजनको बाटो रोज्नुपरेको उनीहरूले बताए । एमालेभन्दा माओवादी केन्द्र नै अग्रगामी शक्ति रहेको उनीहरूको निष्कर्ष छ । गाैतम भने एकीकृत समाजवादीसँग गर्ने भनेको एकता प्रक्रियाको च्याप्टर क्लोज भएपछि एमालेसँग नजिकिएका हुन् ।
वामदेव गौतम २०७८ सालमा एमाले विभाजन हुँदा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र एमाले कतै नलागी बसेका थिए ।