आइओएमबाट एमबीबीएस उत्तीर्ण गरेका विद्यार्थीहरू विदेश पलायन हुने तयारीमा

मूलखबर संवाददाता
काठमाडौं

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगन्ज क्याम्पसबाट एमबीबीएस उत्तीर्ण गरेका विद्यार्थीहरू करिबकरिब सबै जना विदेश पलायन हुने स्थिति देखा परेको छ ।

महाराजगन्जबाट एमबीबीएस उत्तीर्ण गरेका विद्यार्थीहरूमाथि गरिएको सर्वेक्षणमा शतप्रतिशतले विदेश जाने योजना बनाएको बताएका छन् । सर्वेक्षणमा सहभागी ४३ मध्ये ४१ जना (९५ प्रतिशत) ले विदेश जान परीक्षामा नाम दर्ता गराइसकेको पाइएको छ ।

सरकारद्वारा गठित चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवासुविधा सुधारसम्बन्धी अध्ययन कार्यदलले आइतबार बुझाएको प्रतिवेदनले यस्तो तथ्य बाहिर ल्याएको हो । मुलुककै अब्बल शैक्षिक संस्था मानिएको आईओएमका मेडिकल विद्यार्थीको सोच र योजनाले मुलुककै समग्र स्वास्थ्य क्षेत्र र चिकित्सकको अवस्था दर्साउँछ ।

नेपाल मेडिकल काउन्सिलको तथ्यांकले पनि बर्सेनि विदेश पलायन हुने नेपाली चिकित्सकको संख्या बढ्दै गएको देखाउँछ । तथ्यांकअनुसार पछिल्ला ४ वर्षमा नेपालमा ८ हजार ६ सय २४ जना नयाँ चिकित्सक काउन्सिलमा दर्ता भए । ६ हजार ३ सय ६८ चिकित्सकले विदेश जान काउन्सिलबाट असल चारित्रिक प्रमाणपत्र (गुड स्ट्यान्डिङ सर्टिफिकेट) लिएका छन् । उनीहरूले विदेशमा थप अध्ययन र काम गर्नका लागि उक्त प्रमाणपत्र लिनुपर्ने अवस्था छ ।

चार वर्षको तथ्यांक हेर्दा नयाँ दर्ता भएकामध्ये करिब ७४ प्रतिशत चिकित्सक कामको खोजी र थप अध्ययनका लागि विदेश गए वा जाने योजनामा छन् । सन् २०२० मा ७ सय ६९ जना चिकित्सकले विदेश जान प्रमाणपत्र लिएकोमा २०२१ मा झन्डै दोब्बर १ हजार ३ सय २७ जनाले प्रमाणपत्र लिएका खबर कान्तिपुरमा सुदिप कैनीले लेखेका छन् ।

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव टंकप्रसाद बराकोटी संयोजकत्वको विज्ञ सम्मिलित समितिले नेपाली चिकित्सक विदेश जानुको कारणसमेत औंल्याएको छ । न्यून तलब–सुविधा, अध्ययन–अनुसन्धान र वृत्तिविकासको अभाव, परिष्कृत स्वास्थ्य संस्थाको कमी, स्वास्थ्य संस्थामा हुने हिंसाका घटनाका कारण विदेश जान बाध्य भएको प्रतिक्रिया समितिको प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदन समितिले आइतबार स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई बुझाएको छ । सरकारले दुई वर्षअघि समिति गठन गरेको थियो ।