काठमाडौं जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरू
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान सुरू भएको छ। काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधव अधिकारीको इजलासमा लामिछानेको बयान सुरू भएको हो।
बयान सकिएपछि थुनछेक बहस सुरू हुने स्रेस्तेदार रामु शर्माले जानकारी दिएका छन्।
लामिछाने आइतबार बिहान साढे ९ बजे नै अदालतमा हाजिर भएका थिए। यसअघि बिहीबार कास्की जिल्ला अदालतले उनलाई सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा ६५ लाख धरौटीमा छाडेको थियो।
उक्त आदेशपछि काठमाडौंमा उनी आफै हाजिर हुने गरी हिरासतमुक्त भएका थिए।
स्वर्णलक्ष्मी सहकारीमा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ अपचलन भएको अभियोगपत्रमा खुलाइएको छ। उक्त रकम अपलचनमा सरकारी वकिलको कार्यालय काठमाडौंले ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।
रवि लामिछाने र जिबी राईको हकमा सहकारीबाट गएको पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रुपैयाँ अपचलनको आरोप छ। जसमध्ये प्रहरीको हिरासतमा रहेका कमल लामा र सुनिता नेवालाई अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो।