ल्याब स्कुलले कब्जा गरेकाे त्रिविकाे १०८ राेपनी जग्गा फिर्ता लिन आयाेगकाे सिफारिस
त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित १ सय ८ रोपनी जग्गा ल्याब स्कुलका नाममा २४ वर्षदेखि प्रयोग गर्दै आएको जग्गा फिर्ता लिन र भाडा असुल्न जग्गा तथा सम्पत्ति खोजबिन आयोगले सिफारिस गरेको छ । स्कुलले त्रिविको जग्गा प्रयोग गरेयताको भाडा सरकारीसरह उठाउन आयोगले सरकारलाई सुझाव दिएको हो ।
त्रिविको जग्गामा कांग्रेस कोषाध्यक्ष तथा शिक्षाकर्मी उमेश श्रेष्ठ, पूर्वशिक्षामन्त्री तथा एमाले नेता कृष्णगोपाल श्रेष्ठलगायतको समूहले गुठीअन्तर्गत ल्याब स्कुल सञ्चालन गर्दै आएको छ ।
त्रिविको शिक्षा संकायका विद्यार्थीलाई शिक्षण अभ्यास गर्न खोलिएको ल्याब स्कुल २०५७ साउन १३ देखि उनीहरू संरक्षक रहने गुठीअन्तर्गत चलाइएको हो । उक्त गुठीलाई १५ वर्षका लागि जग्गा दिने सम्झौता शिक्षा मन्त्रालयले गरेको थियो । १५ वर्षे सम्झौता सकिएपछि त्रिविले जग्गा खाली गर्न ल्याब स्कुललाई ताकेता गर्दै आए पनि अटेरी गरिएको थियो ।
त्रिविको संलग्नताबिनै विश्वविद्यालयको जग्गा शिक्षा मन्त्रालयले निजी विद्यालय सञ्चालनका लागि प्रयोग गर्न दिएको आयोगको निष्कर्ष छ । ‘शिक्षा मन्त्रालयले त्रिविको जग्गा भोगचलन गर्न दिएको देखियो, जग्गाधनीको मन्जुरीबिनै सार्वजनिक जग्गामा विद्यार्थी र अभिभावकबाट शुल्क उठाएर व्यापार–व्यवसाय गरेको पाइयो । स्कुल हटाउन सिफारिस गरेका छौं,’ छानबिन आयोगका एक सदस्यले भने ।