संसदकाे लेखा समिति सभापति पत्नीलाई सहकारी ठगीमा पक्राउ पुर्जी जारी
भ्रष्टाचारको छानविन गर्ने उच्च निकाय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाविरुद्ध सहकारी ठगी कसुरमा पक्राउ पुर्जी जारी भएको छ । मोरङको धनपालथान–३ मा सञ्चालित उमा–गौरी कृषि सहकारीको बचत अपचलनमा संलग्न देखिएपछि मोरङ जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी गरेको हो ।
उक्त सहकारी ठगीमा मंसिर २७ मै कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ ।
एमाले नेता पोखरेलकै पहलमा स्थापना गरिएको सहकारीमा कोइरालालाई सञ्चालक समितिमा राखिएको थियो । उनी २०७२ देखि २०७८ सम्म सञ्चालक सदस्य थिइन् । कोइरालासमेतको हस्ताक्षरबाट भएको निर्णयको आधारमा सहकारीले बुटवलस्थित आरएसडीसी लघुवित्तबाट ११ करोड ५६ लाख ऋण लिएको थियो ।
ऋण नतिरेपछि लघुवित्तले यसअघि नै कोइरालालगायतलाई कालोसूचीमा राखिसकेको छ । सहकारी संकटमा परेपछि कोइरालाले २०७८ माघ ५ मा राजीनामा दिएकी थिइन् ।
उजुरीमा कोइरालाको नाम भए पनि प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले गत भदौ २४ मा सहकारीका अन्य १० जनामाथि मात्र अनुसन्धान गर्न प्रहरीलाई निर्देशनात्मक पत्र पठाएको थियो । त्यति बेला राजनीतिक दबाबमा कोइरालाको नाम हटाइएको भन्दै प्रश्न उठेको थियो ।
इलाका प्रहरी कार्यालय रंगेलीले गरेको अनुसन्धानमा रकम अपचलनमा कोइरालासमेत संलग्न देखिएपछि २६ जनाविरुद्ध साढे २२ करोड बिगो र ८ वर्ष कैद मागदाबी गरेर जिल्ला अदालतमा गत बिहीबार मुद्दा दायर गरिएको हो । त्यसअनुसार पहिले पक्राउ परेका एक जनाबाहेक कोइरालासहित २५ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको खबर कान्तिपुरमा छ ।