रास्वपा सांसद सुमना भन्छिन् – प्रधानमन्त्री सहकारी समस्या समाधान गर्न चाहन्नन्
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पार्टी सभापति रवप लामिछानेलाई थुनिराख्नु उचित नभएको बताएकी छिन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले रविलाई थुनेर सहकारी समस्या समाधान गर्न नचाहेको बताएकी हुन् । उनलेे प्रधानमन्त्री ओलीलाई सहकारी प्राधिकरण बनाउने विषयमा वेवास्ता गरेको आराेप पनि लगाएकी छन् ।
श्रेष्ठ लेख्छिन्, ” सहकारी समस्या समाधान गर्दै नगर्ने हो प्रधानमन्त्रीज्यू???
हालै सरकारले प्रस्ताव गरेको भनिएको कानुनको मस्यौदामा सहकारीको नयाँ नियामक निकाय ‘वित्तीय सहकारी नियमन तथा सुपरीवेक्षण प्राधिकरण’ को संरचना र यसको प्रभावकारिताबारे सरोकारवालाहरूको सुझाव लिइयो त?
हेर्नुस्, ५० खर्बको अर्थतन्त्रमा ५ खर्ब रकम सहकारीमा छ। झण्डै १० प्रतिसत हाराहारी अर्थतन्त्र नियमन गर्ने निकाय पदेन कर्मचारी र दलको भागबण्डाबाट जाने पदाधिकारीले चलाउन सक्दैनन्। राष्ट्रबैंकको जत्तिकै क्षमता चाहिन्छ प्रस्तावित प्राधिकरणमा नत्र स्रोत र बन्दोबस्ती थपिदिएर राष्ट्रबैंकलाई नै जिम्मा दिए हुन्छ सहकारी नियमनको पनि।
विषय विज्ञलाई हैन कर्मचारीलाई प्राधिकरणको नेतृत्वमा ल्याउन चाहनुमा राजनीतिक दलको खोल ओडेका सहकारी सञ्चालकको स्वार्थ लुकेको छरपस्टै छ।
प्रधानमन्त्रीज्यू, ३ महिनाभित्र सहकारी प्राधिकरण बनाउने संसदीय समितिको सिफारिस त मान्नुभएन। ढिलै भएपनि प्राधिकरण बनाउनुस्। पूर्ण स्वायत्त र जवाफदेही निकाय बनाउन कानुन ल्याउनुस्। पीडित र सरोकारवालाका कुरा पनि सुन्नुस्।
हैन भने सहकारीका बचतकर्ताको रकम फिर्ता हुँदैन, सरकारको ध्यान त्यतातिर छैन भनेर भनिदिनुस्।
धिकार छ!”