विद्युतकाे बक्यौता उठाउन अवराेध गर्ने उर्जामन्त्री खड्का आफैंले तिरेनन् स्काउटको जग्गा भाडा, पर्याे मुद्वा
विद्युुत महशुलकाे बक्यौता नतिर्ने उद्योगी व्यवसायीकाे लाइन काट्ने विद्युुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरन्तर अवराेध र कारवाही गर्न खाेज्ने ऊर्जामन्त्री दीपक खड्का आफैंले स्काउटको जग्गा भाडा नतिरेकाे देखिएको छ ।
खड्का सञ्चालक रहेको कम्पनीले सम्झौताअनुसार जग्गा र भवनको भाडा नबुझाएको भन्दै नेपाल स्काउटले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा दिएको निवेदन १० महिना बित्दा पनि छलफल चलाइएको छैन ।
ऊर्जामन्त्री खड्काले भने नेपाल स्काउटको लैनचौरस्थित जग्गा भाडा छुट गराउन निरन्तर ‘लबिइङ’ गरिरहेका छन् ।
कांग्रेस केन्द्रीय सदस्य तथा संखुवासभाबाट निर्वाचित सांसद खड्का सञ्चालक रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले स्वयंसेवी संस्था स्काउटको ३ रोपनी जग्गा भाडामा लिएको थियो । उक्त कम्पनीले भाडाबापत ५ करोडभन्दा बढी बुझाउन बाँकी छ ।
तीन रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएका खड्काको कम्पनीले सम्झौताविपरीत ९ रोपनी जग्गा हडपेर १५ वर्षसम्म भोगचलन गरेको थियो, सम्झौता सकिएपछि पनि जग्गा नछाडेको र समयमा नै भाडा भुक्तानी नगरेको विषय अदालत प्रवेश गरेको थियो ।
स्काउटको सम्पत्ति खाली गर्न उच्च अदालत पाटनले आदेश दिएको २ वर्षसम्म उनले अवज्ञा गरेका थिए । चौतर्फी दबाबपछि गत वैशाख ७ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंले हस्तक्षेप गरेर जग्गा खाली गराई ‘सिल’ गरेको थियो । प्रशासनले त्यतिबेला जग्गा तथा भवनमा सिलबन्दी गरे पनि मन्त्री खड्काको कम्पनीले बक्यौता भाडा नतिरेको स्काउटले जनाएको छ ।
उर्जामन्त्री खड्काले प्राधिकरण कार्यलयमा कार्यकक्ष बनाएरै कुलमानलाई निरन्तर अवराेध खडा गरिरहेकाे भन्दै आलोचना भइरहेको छ । एकातिर विद्युुुतकाे बक्याैयाै उठाउन नदिने र अर्कोतिर आफैं वर्षाैंसम्म जग्गा भाडाकाे बक्यौता नतिर्ने रबैयाले उर्जामन्त्रीकाे वास्तविक चरित्र उदांगिएकाे छ ।