ओलीको चीन भ्रमणपछि सत्तारूढ दलबीचमा बढ्याे विवाद
प्रधानमन्त्री केपी ओली चिन भ्रमणबाट फर्किएलगत्तै सत्तारूढ दलबीचमा विवाद देखिएकाे छ ।
बेइजिङमा बुधबार हस्ताक्षर गरिएको ‘बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्क’ लाई लिएर सत्तारूढ कांग्रेसभित्र तरंग उत्पन्न भएको छ । प्रधानमन्त्री ओली भ्रमणमा निस्कनुअघि सत्तारुढ दुई दलबीच बनेको साझा धारणालाई ‘संशोधन’ गरेर चीनसँग सम्झौता गरिएको प्रतिक्रिया कांग्रेसका कतिपय नेताले दिइरहेका छन् । चीनबाट फर्केपछि बालुवाटारमा कांग्रेस नेताहरूसँग भएको छलफलमा समेत ओलीले सम्झौताबारे प्रस्टोक्ति दिएका थिए ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको राजनीतिक संयन्त्रको बैठक सकिएलगत्तै प्रधानमन्त्री ओलीले बिहीबार साँझ कांग्रेस नेताहरूसँग छलफल गरेका थिए । संयन्त्रको बैठकमा भने ओली उपस्थिति थिएनन् ।
ऋण र अनुदान दुवै हुन सक्ने गरी ‘बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्क’ मा सम्झौता गरिएकामा कांग्रेसभित्र सभापति देउवाकै विश्वासपात्रहरूले प्रश्न उठाउन थालेपछि यो पेचिलो बन्ने देखिएको छ ।
प्रधानमन्त्री ओलीले भ्रमणमै रहेकी परराष्ट्रमन्त्री राणा र काठमाडौंमै रहेका कांग्रेस सभापति देउवासँग परामर्श गरेर चीनको प्रस्तावअनुसार ‘टेक्निकल सपोर्ट एन्ड एड फाइनान्सिङ मोडालिटी’ शब्दावली राख्ने सहमति भएको थियो । ऋण र अनुदान दुवै अर्थ लाग्ने ‘एड फाइनान्सिङ मोडालिटी’ उल्लेख गरिएको भनेर कांग्रेसका एकथरी नेताहरूले असन्तुष्टि जनाइरहेका छन् ।
असन्तुष्टि जनाउनेहरूमा पूर्वपराराष्ट्रमन्त्रीहरू एनपी साउद, प्रकाशशरण महतलगायत कांग्रेस नेता छन् । कांग्रेस सभापति देउवा र अधिकांश पदाधिकारी भने चीनलाई थप चिढ्याउने गरी यसलाई गिजोल्न नहुने पक्षमा छन् । ‘कांग्रेसकै सहमतिमा सम्झौतामा हस्ताक्षर भएको हो ।
कांग्रेस नेता एवं पूर्व परराष्ट्रमन्त्री साउदले अहिलेको अवस्थामा अनुदान मात्र लिने निर्णय पार्टीबाट भइसकेको अवस्थालाई लत्याएर ऋण लिन सक्ने गरी हस्ताक्षर गर्नु गलत भएको बताए ।
उनले भने, ‘कांग्रेसको बीआरआई सहकार्य फ्रेमवर्कलाई अघि बढाउने विषयमा कांग्रेसले प्रस्ट निर्णय गरिसकेको थियो । हामीले अनुदान मात्र स्वीकार गर्छौं भनेका थियौं । तर पार्टीको निर्णयविपरीत यसरी हस्ताक्षर हुनु ठीक होइन ।’ ‘टेक्निकल सपोर्ट एन्ड एड फाइनान्सिङ मोडालिटी’ मा ऋण सहायता लिने कुरा आउँदा पनि कांग्रेसले मान्नुलाई पार्टी नीतिको विचलनका रूपमा उनले टिप्पणी गरेका छन् ।- कान्तिपुरबाट