माेरङ ग्रामथान गाउँपालिका गुमायाे कांग्रेसले, माओवादीका माझी निर्वाचित

मूलखबर संवाददाता
माेरङ, १७ मंसिर

मोरङको ग्रामथान गाउँपालिका सत्तारुढ दल नेपाली कांग्रेसले गुमाएको छ । गाउँपालिकाको रिक्त अध्यक्ष पदमा भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका नमो नारयण माझी निर्वाचित भएका छन् ।

आइतबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका बलराम सरदार थारुलाई १ हजार ६३६ मतले हराउँदै माझी निर्वाचित भएका हुन् ।

निर्वाचित माझीले ६ हजार ९६९ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका थारुले ५ हजार ३ सय ३३ मत ल्याए ।

यस्तै, नेकपा एमालेका तुलसी राम विश्वासले ४ हजार १५९ मत ल्याएर तेस्रो भएका छन् । ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका मध्ये १८ हजार ५७७ मत खसेको थियो ।

२०७९ को निर्वाचनबाट गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । असार ३ गते उनको निधन भयो । रिक्त रहेको अध्यक्ष पदका लागि आइतबार उपनिर्वाचन भएको थियो ।

२०७९ सालको निर्वाचनमा उक्त पालिकाको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारुले ७ हजार ६०५ मत ल्याएर विजयी भएका थिए । त्यसबेला एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ र माओवादीका विजयकुमार सरदारले २ हजार ७२७ मतमात्रै ल्याएका थिए । विजयी बनेका थारुको निधन भएपछि आइतबार उपनिर्वाचन हुन भएको हो ।

पालिकाको ७ वटा वडामध्ये एमालेले ४, कांग्रेसले २ र माओवादी केन्द्रले एउटा वडाध्यक्ष जितेका छन् ।