आज उपनिर्वाचन : ४१ पदमा मतदान हुँदै, ३ निर्विराेध, ३७६ उमेदवार
आज मंसिर १६ गते । स्थानीय तहका ४२ पदमा आज आइतबार उपनिर्वाचन हुँदै छ । नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ तथा वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन गरिएको हो ।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा २० राजनीतिक दलका र स्वतन्त्रसमेत गरेर ३ सय ७६ जना उम्मेदवार छन् । उपनिर्वाचन हुने स्थानीय तहमा २ लाख २६ हजार ७ सय ९९ मतदाता छन् ।
१ सय ६२ मतदानस्थलमा २ सय ९३ मतदान केन्द्र बनाइएको छ । मतदानका लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ । मत हाल्न मतदाता परिचयपत्र लिएर मतदान केन्द्रमा पुग्नुपर्नेछ ।
निर्वाचन आयाेगले मतदाताहरूलाई मतदाता परिचयपत्र नभएकाे अवस्थामा परिचय खुल्ने नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक परिचयपत्र, राहदानी वा स्थायी लेखा नम्बर भएको परिचयपत्रका आधारमा मतदान गर्न मिल्ने जनाएको छ ।
उपनिर्वाचनअन्तर्गत ४४ पदमा निर्वाचन गर्नुपर्ने थयाे तर रुकुमपूर्वको पृथा उत्तरगंगा–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती भने निर्विरोध निर्वाचित भइसकेका छन् । कैलालीको जिसस प्रमुखमा कांग्रेसका टीकाकुमारी चौधरी (भुल) र ओखलढुंगा जिसस प्रमुखमा कांग्रेसकै टेकराज भट्टराई पनि निर्विरोध विजयी भएका छन् । अब जम्मा ४१ पदमा निर्वाचन हुने भएको छ ।