ओलीकाे चीन भ्रमण एजेन्डामा सहमति अझै जुटेन, के हाेला अब ?

मूलखबर संवाददाता
काठमाडौं, ७ मंसिर

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका एजेन्डामा सत्तारूढ कांग्रेस र एमालेबीच अझै सहमति जुट्न सकेको छैन । बीआरआई कार्यान्वयन योजनामा सम्झौता गर्ने कि नगर्ने, बीआरआईअन्तर्गत चीनबाट अनुदान मात्रै लिने कि ऋण पनि लिने भन्नेमा दुई ठूला दल समझदारी बनाउने गृहकार्यमा छन् ।

सहमति जुट्न नसक्दा बिहीबारको मन्त्रिपरिषद्को बैठकले न प्रधानमन्त्रीको चीन भ्रमणको मिति सार्वजनिक गर्‍यो, न एजेन्डाबारे निर्णय गर्न नै सक्यो । अनौपचारिक तहमा भने प्रधानमन्त्रीको चीन भ्रमण मंसिर १७ देखि २१ सम्म हुने तयारी भइरहेको छ ।

ओलीले बिहीबारकै मन्त्रिपरिषद् बैठकबाट चीन भ्रमणका एजेन्डा पारित गर्ने तयारी गरेका थिए । तर, चीनबाट ऋण लिने कि अनुदान मात्र भन्नेमा सहमति नभएपछि बीआरआई कार्यान्वयन योजना सम्झौताका विषयमा दुई दलबीच मतैक्य बन्न सकेको छैन । नेपालले सन् २०१७ मा बीआरआईसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । तर, हालसम्म त्यसअन्तर्गत कुनै पनि परियोजना नेपालमा सुरु भएको छैन ।

कांग्रेसकै अडानअनुसार अनुदान मात्रै लिन सहमत भएका प्रधानमन्त्री ओलीले कार्यान्वयन योजना सम्झौतापत्रमा हस्ताक्षर गर्न चाहेका छन् । ‘कार्यान्वयन योजनामा सम्झौता गर्ने भनिएको होइन, सहमति मात्रै गर्ने हो । त्यसैले यो कुनै निश्चित परियोजनासँग पनि सम्बन्धित नभएकाले हस्ताक्षर गरेर जाँदा फरक पर्दैन भन्ने प्रधानमन्त्रीको तर्क छ,’ बालुवाटारनिकट एक अधिकारीले भनेकाे खबर कान्तिपुरमा छ ।