१११ मेगावाटको रसुवागढी आयोजनाबाट विद्युत उत्पादन शुरू, राष्ट्रिय ग्रीडमा जाेडियाे
रसुवागढी जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतकाे अगुवाइमा रसुवामा निर्माण भएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
रसुवाको गोसाइकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७–३७ मेगावाटका तीनवटा युनिटमध्ये एउटा युनिटबाट परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको हो ।
आयोजनाले परीक्षणका रूपमा चार दशमलव दुई मेगावाट विद्युत् उत्पादन गरेको थियो । परीक्षण सफल भएपछि अब क्रमशः विद्युत् उत्पादन बढाउँदै लगिनेछ । सबै युनिटबाट परीक्षण उत्पादन र तोकिएका मापदण्ड पूरा गरी करिब एक महिनाभित्रमा आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरिने आयोजनाको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनीका प्रबन्ध–सञ्चालक छवि गैरेले बताए ।
टिमुरे (तातोपानी) स्थित विद्युत्गृहबाट आयोजनाले नै निर्माण गरेको १० किलोमिटर लामो एक सय ३२ केभी प्रसारण लाइनमार्फत उत्पादित विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।
उक्त विद्युत् चिलिमे–त्रिशूली र त्यहाँबाट त्रिशूली–काठमाडौँ दुई सय २० केभी प्रसारण लाइन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । चिलिमे–त्रिशूली दुई सस २० केभी प्रसारण लाइनलाई निर्माण सम्पन्न गरी गत कात्तिक २१ गतेबाट सञ्चालनमा ल्याइएको थियो ।