गाैरीशंकर गाउँपालिकामा उपाध्यक्षमा निमलेकी शेर्पासहित १६ काे उमेदवारी दर्ता, काे हुन शेर्पा ?

मूलखबर संवाददाता
दाेलखा, ३ मंसिर

मंसिर १६ गते हुने निर्वाचनकाे लागि दोलखाको गौरीशंकर गाउँपालिकाकाे उपाध्यक्ष पदमा माओवादी केन्द्रवाट निमलेकी शेर्पासहित १६ जनाले मनोनयन दर्ता गरेका छन् ।

हिजो आइतबार  भएको मनोनयन दर्तामा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा), नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी र ९ जना स्वतन्त्र उम्मेदवारहरुको उम्मेदवारी दर्ता भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्ष पदकालागि माओवादी केन्द्रवाट निम लेकी शेर्पा, एमालेवाट उमा लुङ्गेली मगर शेर्पा, कांग्रेसवाट पासदिकी शेर्पा, राश्वपावाट गोमा श्रेष्ठ, नेकपा एसवाट रविना खड्का, राप्रपावाट मनकुमारी श्रेष्ठ र जनता समाजवादी पार्टीवाट सपना कार्की खड्काको उम्मेदवारी परेको छ ।

मंसिर १६ गते हुने उपनिर्वाचनकालागि ९ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउनेमा अप्सरा विश्वकर्मा, अम्विका श्रेष्ठ, दिपक तामाङ, दिलबहादुर बस्नेत, द्धारिका बुढाथोकी, पुष्पा कार्की, मधुरा कार्की, शिव शम्भु तमाङ र सर्किमा शेर्पा रहेका छन् ।

काे हुन् निम लेकी शेर्पा ?

गौरीशंकर गाउँपालिका–७ मार्वु स्थायी घर भएकी निम्लेकी महिला स्वयंसेविका हुन् । २०७० सालदेखि हालसम्म महिला स्वास्थ्य स्वयंसेवीकाको रुपमा कार्यरत निम्लेकीलाई माओवादी केन्द्रले सर्वसम्मत उम्मेदवार बनाएको हो ।

आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका र सामुदायिक मेलमिलापकर्ता भएर मार्वु र गौरीशंकर गाउँपालिकाका जनतासँग प्रतक्ष्य जोडिएकी निम्लेकी स्थानीय समुदाय वीच परिचित अनुहार हो ।

सामाजिक काममा पनि उतिकै सक्रिय

बिद्युत सहकारी संस्थादेखि स्थानीय जनउपकार बचत तथा ऋण सहकारी संस्थाको संचालक समेत रहेकी उनी सहकारी, विकास निर्माण र सामाजिक काममा समेत अग्रसर हुँदै आएकी छिन् । मार्वु, चंखु, खारे लगायतका उत्तरी क्षेत्रमा बाढीपहिरोले क्षति गर्दा तथा कोरोना महामारीको समयमा समेत निम्लेकी खोज, उद्धार, राहत र उपचारमा सक्रियताका साथ खटिएकी थिईन् ।

गाउँघरमै बस्ने उम्मेदवार

माओवादीवाट उम्मेदवार बनेकी निम्लेकी गाउँघरमै बसेर सामाजिक अभियानमा जोडिएकी नेतृ हुन् । जनयुद्ध कालमै माओवादीको पार्टी सदस्यता लिएकी निम्लेकी माओवादीको गौरीशंकर गाउँ पार्टी कमिटीको कोषाध्यक्ष तथा माओवादी निकट अनेमसंघ क्रान्तिकारीको पालिका अध्यक्ष समेत हुन् ।

माओवादी केन्द्रले २०७९ सालको स्थानीय तहको निर्वाचनमा पनि निम्लेकीलाई गौरीशंकर–७, मार्वुवाट वडा सदस्यको उम्मेदवार बनाएको थियो । (hamro update काे सहयाेगमा)