लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

मूलखबर संवाददाता
पोखरा, ४ कात्तिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । पक्राउ परेको तेस्रो दिन आइतबार दिउँसो १ः३० बजे लामिछानेलाई अदालत उपस्थित गराइएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केपी ओलीको नेतृत्वमा देशले दुख पाइरहने बताएका छन् । सहकारी ठगीको आरोपमा शुक्रबार काठमाडौंबाट पक्राउ परेका उनले केपी ओलीको सरकार रहिरहने हो भने यो देशले धेरै दुःख पाउने दाबी गरेका हुन् ।

आइतबार कास्की जिल्ला अदालतमा प्रहरीले उपस्थित गराउँदा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सरकारको रवैयाविरुद्ध आम जनता बाहिर निस्कनुपर्ने बेला आउनसक्ने बताए । ‘अधिनायकवादी सरकारको विरुद्ध यही बेलामा देशैभरीबाट जो जो जहाँजहाँ हुनुहुन्छ, मेरा लागि होइन देशका लागि बाहिर निस्कनुपर्ने बेला आउन सक्छ’, उनले भने, ‘म सबैलाई अपिल गर्न चाहन्छु– सम्पूर्ण न्यायप्रेमी दाजुदभाइ दिदीबहिनीहरू यो सरकार रहुन्जेलसम्म उसले यस्तै हर्कत गरिरहन्छ । झुटा मुद्दामा मान्छेलाई फसाउने काम निरन्तर चलिरहन्छ ।’

उनलाई सूर्यदर्शन सहकारी ठगीसम्बन्धी उजुरीमा अनुसन्धानका लागि सीआईबीले जिल्ला प्रहरी कार्यालय कास्कीसमक्ष जिम्मा लगाएको थियो । लामिछानेको पक्राउबारे सरकारले प्रतिसोध साँधेको भन्दै रास्वपाले देशव्यापी विरोध गरिरहेको छ ।