हिमाल आराेहणमा विदेशी नागरिकको आकर्षण बढ्दाे, यसपटकको लागि ८३९ आइसके

मूलखबर संवाददाता
काठमाडौं, ३ कात्तिक

याे माैसम हिमाल आराेहणकाे सिजन हाे । यसपटकको हिमाल आराेहणमा विदेशी पर्यटककाे आकर्षण बढेकाे देखिएकाे छ ।

यसपटक ८ हजार मिटरभन्दा अग्ला हिमालमा मनास्लु, धौलागिरि, मकालु र चोयूमा ३१ वटा आरोहण दलले अनुमति लिएका छन् । यी चारबाहेक अरू सबै साना हिमाल छन् ।

शरद्कालीन हिमाल आरोहणका लागि ६९ देशका ८ सय ३९ जना विदेशी नेपाल आइपुगेका छन् । बुधबारसम्म सगरमाथाबाहेक ३७ वटा हिमाल आरोहणका लागि ६९ वटा देशका आरोही नेपालमा आइसकेको पर्यटन विभागले जनाएको छ ।

यस पटक १ सय ११ वटा आरोहण दल पश्चिमकाे दार्चुलाको अपी हिमालदेखि पूर्वमा मकालु हिमालसम्म आरोहणमा गएको विभागले जनाएको छ । यसमा नेपालीसहित ६ सय ६८ पुरुष र २ सय २ महिला आरोही छन् ।

यसपटक नेपालका २ महिला र २९ पुरुष पनि शरद्कालीन हिमाल आरोहणमा गएका छन् । विभागले आरोहीहरूलाई जारी गरेको अनुमतिबाट ६ करोड ३५ लाख सलामी दस्तुर संकलन गरिसकेको जनाएको छ ।

यसपटक सबैभन्दा धेरै आरोही संयुक्त राज्य अमेरिकाबाट ७३, चीनबाट ७२, फ्रान्सबाट ६९, रसियाबाट ६१, जर्मनीबाट ५६, चेक रिपब्लिकबाट ४७, जापानबाट ४५, बेलायतबाट ४२, स्पेनबाट ३८, स्विजरल्यान्डबाट ३६ र भारतबाट १५ जना आएका छन् । यीबाहेक अरु ५९ मुलुकहरूबाट पनि आरोही नेपाल आएका छन् ।