गाउँका घर खाली र जग्गा बाँझो भएकोमा मन्त्री गुरूङकाे चिन्ता

मूलखबर संवाददाता
काठमाडौं, २६ असाेज

सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले  शिक्षा, स्वास्थ्य, यातायातलगायत सुविधा गाउँमा पुगे पनि  गाउँका घर खाली हुँदै तथा जमिन बाँझो रहेकामा चिन्ता व्यक्त गरेका छन् ।

दशैंकाे अवसरमा गृहजिल्ला लमजुङकाे  क्व्होलासोथर गाउँपालिका–९ टक्सारमा शनिबार टक्सार बाबा र आमा समूहले संयुक्त रूपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य,पर्यटन र कृषि क्षेत्रको विकास, रोजगारीका सिर्जनालाई सरकारले  पहिलो प्राथमिकता दिएको बताए।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले गाउँबाट सहर पस्ने र सहरबाटै विदेश जाने प्रवृत्ति रोक्न सरकारले हरसम्भव प्रयत्न गरिरहेको बताए ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा रहँदा आफूले लमजुङ र समग्र गण्डकी प्रदेशको विकासका लागि सक्रियतापूर्वक काम गरेको उनकाे दावी छ।

‘घरघरमा बिजुली, एक घर, एक धारा’ अभियान सञ्चालन गरेको बताउँदै मन्त्री गुरुङले लमजुङको विकासका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीयले सडक कालोपत्र गर्ने तथा बिजुलीका नाङ्गा तार ‘इन्सुलेटर’युक्त बनाउन गरेका मागप्रति सञ्चारमन्त्री गुरुङले सकारात्मक जवाफ दिएका छन् ।