बाढीले अवरुद्ध गरेको कान्ति लोकपथ सुचारु

मूलखबर संवाददाता
काठमाडौं

असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षा पश्चातको बाढी तथा पहिरोका कारण अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु भएको छ । नेपाली सेनाको सक्रियतामा यो सम्भव भएको हो ।

मकवानपुर जिल्ला, भीमफेदी गाउँपालिका–८ महादेवटार र ललितपुर जिल्ला, वाग्मती गाउँपालिका–२ वगुवास्थित वाग्मती खोलामा रहेको पुलको केही भाग बगाए पश्चात् अवरुद्ध भएको कान्तिलोकपथ मार्गमा मिति सोमबारबाट सवारी आवागमन सुचारु भएको छ ।

उक्त लोकपथ मार्गमा सवारी आवागमन सुचारु गर्न नेपाली सेनाले अन्य निकायको सहयोगमा कार्य गरिरहेको जनाएको छ ।

दुई स्थानमा करिव ८०० मिटरको बाँध निर्माण गरी बागमती नदी डाइभर्सन गरेको छ । यसैगरी, ३२० मिटर लम्बाइको नयाँ ट्रयाक निर्माण गरेको छ भने बागमती नदीमा करिव ४० मिटर लम्बाइको ¥याप निर्माण गरी पुलसम्म सडक जोडेको जनाएको छ ।

ग्याबिन बक्स तथा बागमती नदीमा ह्युम पाइप राखी अस्थायी सडक बनाएको जानकारी दिँदै सेनाले कान्तिलोकपथको अन्य विभिन्न खण्डमा पहिरो पञ्छाउने कार्य गरेको जनाएको छ ।