मुक्तिनाथमा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालन

मूलखबर संवाददाता
काठमाडौं

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा दुईवटा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ ।

समुद्री सतहबाट तीन हजार सात सय १० मिटर उचाइमा रहेको मुक्तिनाथ मन्दिर दर्शन र पूजाआजाका लागि आउने भक्तजनलाई लक्षित गरेर वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र गण्डकी प्रदेश सरकारले आकस्मिक उपचार केन्द्र सञ्चालन गरेका हुन् । वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिन नामगेल गुरुङले उपचार केन्द्र सञ्चालन गरेर अक्सिजनको कमीले बिरामी पर्ने तीर्थयात्री र पर्यटकलाई तत्काल प्राथमिक उपचारको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

मुक्तिनाथ मन्दिरको उपचार केन्द्रमा औषधि खरिदका लागि आर्थिक वर्ष २०८१-८२ मा रु पाँच लाख विनियोजन भएको अध्यक्ष गुरुङले बताउनुभयो । रानीपौवाबाट मन्दिर जाने उकालो पदमार्गको बीच भागमा गत वर्ष नेपाली सेनाले बनाएको आश्रयस्थल भवनमा गण्डकी प्रदेश सरकारले अर्को उपचार केन्द्र सञ्चालन गरेको हो । सो केन्द्रमा प्रदेश सरकारले जोमसोम अस्पतालमातहत औषधि र उपकरणसहित एक स्वास्थ्य सहायक खटाएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट तेजेस नेपालले बताउनुभयो । उपचार केन्द्रमा खटिएका स्वास्थ्यकर्मीलाई गाउँपालिकाले मासिक रु १० हजार भत्ता उपलब्ध गराएको छ ।

बिहान ६ः०० देखि दिउँसो ३ः०० बजेसम्म तीर्थयात्रीको उपस्थिति र आवतजावत हुँदासम्म उपचार केन्द्रमा रहने स्वास्थ्यकर्मीले बिहान र साँझको समयमा रानीपौवाको उपचार केन्द्रबाट सेवा दिने मेडिकल सुपरिटेण्डेन्ट नेपालले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आव २०७८र७९ मा छ जनाको लेक लागेर मृत्यु भएकामा आव २०७९र८० मा १२ जनाको मृत्यु भएको थियो ।

मन्दिर परिसरमा ढलान गरेर भक्तजन चिप्लिएर लड्ने समस्या हटाइएको छ । हेलोजिन लाइट जडान गरेर रातमा उज्यालो बनाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना [एक्याप]ले फोहर व्यवस्थापन गर्ने घर बनाएको छ । पुरातत्व विभागले मन्दिर परिसरको भूमिगत पानीलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने संरचना बनाएको छ ।

धर्मगुरु त्रिदण्डी श्रीमन्नारायण रामानुज जीयरले मुक्तिनाथ मन्दिर परिसरमा विष्णु भगवान्को स्तम्भ बनाउनुभएको छ । पर्यटन विभागमार्फत निर्माणाधीन रानीपौवा–मुक्तिनाथ मन्दिर जोड्ने पदमार्गले भने वर्षौँसम्म पनि पूर्णता पाउन सकेको छैन ।