काठमाडौं जाेड्ने सडक नाका ठप्प, पक्की पुल, सडक र बेलीब्रीज बग्दा मध्यपहाडी राजमार्ग अवरूद्व

मूलखबर संवाददाता
काठमाडौं, १३ असाेज

अविरल वर्षा, बाढी र पहिराेले देशकाे संघीय राजधानी  काठमाडौं जोड्ने सडक नाका ठप्प बनेका छन् ।

नागढुंगा–मुग्लिन, दक्षिणकाली–सिस्नेरी, कान्ति राजपथ, अरनिको र बीपी राजमार्गका ठाउँ–ठाउँमा पहिरो खसेर सडक अवरुद्ध बनेपछि काठमाडौं छिर्न र यहाँबाट बाहिरिन सर्वसाधारणलाई समस्या भयो ।

शनिबार साँझ अबेरसम्म देशभरका विभिन्न सडकखण्डका ६८ स्थानमा पहिरो खसेर यातायात ठप्प भएको छ । ठाउँ–ठाउँमा पहिरो खसेका कारण ती सडक खण्डमा यातायात सञ्चालनमा आउन सकेको छैन ।

सबैभन्दा बढी पहिरो नौबिसेदेखि मुग्लिनसम्मको सडक खण्डमा छ । यही सडकमा पर्ने झ्याप्ले खोलामा पहिरो खस्दा केही यात्रुवाहक सवारी पुरिएर मानवीय क्षतिसमेत भएको छ ।

नौबिसे–मुग्लिन सडकको मझिमटार, मौवाखोला, घोप्टेभिरमा पहिरो खसेर शनिबार दिनभर यातायात ठप्प बनेको छ । नागढुंगा सुरुङमार्गको मुखैमा लेदोसहित पहिरो खस्दा यातायात ठप्प छ ।

मध्यपहाडी राजमार्गको सिन्धुली खण्डकाे आधा दर्जनभन्दा बढी स्थानमा पहिरो गएर सडक ठप्प छ । अक्करे भीर, हर्जेनी, बलेनी, सालघारी, ल्याउखोला, फिक्कल, मंगलटार, रिट्ठाबोट खण्डमा गाडी चल्न नसकेको सडक विभागले जनाएको छ । यता बीपी राजमार्गको नेपालथोक खण्डमा पहिरो खसेर सडक अवरुद्ध छ ।

काठमाडौं जोड्ने नागढुंगा–नौबिसे, दक्षिणकाली–सिस्नेरी–भीमफेदी, अरनिको राजमार्गको विभिन्न खण्डमा पहिरो खसेर यातायात ठप्प रहेको छ ।

बीपी राजमार्गको मंगलटारमा करिब २ सय मिटर सडक खोलाले बगाएकाले उक्त खण्डमा यातायात ठप्प बनेको छ ।

मध्यपहाडी राजमार्गमै पर्ने खोटाङको खोक्सेली र चिसापानीमा पनि पहिरो खसेर सडक ठप्प छ ।

अहिलेसम्म प्रारम्भिक विवरणअनुसार ४० करोडभन्दा बढीको क्षति भएको सडक विभागका महानिर्देशक शुशिल पोखरेलको भनाइ छ । ‘सबैतिरबाट क्षतिको विवरण आइसकेको छैन,’ उनले भने, ‘विवरण लिने क्रम जारी छ, अब पानी नपरे बाढी पहिरोले क्षति पुगेका सडकको मर्मत सम्भार गरेर चाडबाडमा सहज बनाउनेछौं ।’

पक्की पुल र बेली ब्रीज बगायाे

मेची राजमार्गको हेवाखोला र अरनिको राजमार्गको लार्चाको बेलिब्रिज बाढीले बगाउँदा आवागमन अवरुद्ध भएको भौतिक मन्त्रालयले जनाएको छ ।

कान्ति राजपथअन्तर्गत मकवानपुरको बगुवा र ललितपुरको माल्टा जोड्ने वाग्मती नदीको पक्की पुल पनि बाढीले बगाएको छ । दोलखा र रामेछापलाई तराईका जिल्लासँग जोड्ने लाइफ लाइनको रूपमा रहेको सिन्धुली खुर्कोटस्थित सुनकोशी नदी पुलको बायाँतर्फको स्पान पूर्ण रूपमा क्षति भएको मन्त्रालयले बताएको छ ।

उदयपुर र खोटाङ जोड्ने फोक्सिङटारस्थित सुनकोशी नदीमाथिको मोटरेबल पुल पनि बाढीले बगाएको

कान्ति राजमार्ग, त्रिभुवन राजपथ, अरनिको राजमार्ग, मिर्चैया–कटारी–घुर्मी, सहिद मार्ग रोल्पा, भेरी कोरिडोर, सालझन्डी–सन्धिखर्कलगायत सडकको विभिन्न स्थानमा पहिरो खसेर यातायातका साधन चल्न सकेका छैनन् ।