अचानक राेकियाे मेलम्चीको पानी, यस्तो छ कारण

मूलखबर संवाददाता
काठमाडौं, १० असाेज

मेलम्ची खानेपानी विकास समितिले बिहीबार काठमाडौं ल्याउने भने पनि पानी अचानक रोकिएको छ । आफ्ना माग पूरा नगरे मुहानमा कामै गर्न नदिने अडानमा स्थानीय बाढी प्रभावित पुगेपछि पानी राेकिएकाे हाे ।

आफ्ना माग पूरा गराउन दबाब दिने उद्देश्यले स्थानीय बाढी प्रभावितले बुधबार मुहान क्षेत्रमा प्रदर्शनसमेत गरे । बाढी प्रभावितले राहत र पुनःस्थापना एवं स्थानीय सप्लायर्सले सुरुङ निर्माण गर्दागर्दै ठेक्का तोडेर फर्केको इटालियन कम्पनीले बाँकी भुक्तानी दिनुपर्ने माग गरिरहेका छन् ।

समयमै मुहानमा पुगेर काम सुरु गर्न नसकेको, स्थानीयले अवरोध गरिरहेको र मनसुन नरोकिएकाले पानी काठमाडौं ल्याउने कार्य फेरि पनि अनिश्चित बनेको हो । पानी सुरुङमा प्रवेश गराएपछि पनि २६ किमि पार गरेर सुन्दरीजल आइपुग्न समय लाग्छ । यस पटक सुरुङको पानी सबै खाली नगरिएकाले उताबाट पठाउनेबित्तिकै काठमाडौं पानी आउने व्यवस्था गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेको दाबी छ ।

०७७ चैतमा पहिलो पटक मेलम्चीको पानी काठमाडौं खसालिएको थियो । ०७८ असारदेखि हालसम्म बर्खामा बर्सेनि पानी बन्द गर्ने गरिएको छ । तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरू आफ्ना माग पूरा नभएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले माग पूरा नगरी मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।

सुरुङ निर्माणमा संलग्न इटालियन ठेकेदार कम्पनी (सीएमसी) ले खानेपानी आयोजनासँगको सम्झौता तोडेको ७ वर्षसम्म पनि स्थानीय सप्लायर्स र कामदारले २७ करोडभन्दा बढी रकम भुक्तानी पाएका छैनन् । सप्लायर्सहरूले उक्त रकम नपाउँदा बैंकले आफूहरूको सम्पत्ति लिलाम हुने अवस्थामा पुगेको भन्दै सरकारकाे ध्यानाकर्षण गराइरहेकाे छ ।

प्रभावितहरूका केही माग खानेपानी मन्त्रालय र केही माग अन्य मन्त्रालयसँग सम्बद्ध रहेकाले प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किएपछि छलफल गरेर निर्णय गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लामिछानेले बताए । ‘प्राविधिक रूपमा पानी ल्याएर वितरण गर्न समस्या छैन, कुनै समस्या आइनपरे असोज १० मै पानी ल्याउने तयारी गर्दै थियौं,’ उनले भने, ‘तर मनसुन अझै लम्बिने देखियो, त्यसमाथि यही बेला मेलम्चीका बाढीपीडितले विभिन्न माग अघि सार्दै काठमाडौं पानी पठाउन नदिने गरी आन्दोलन सुरु गरे ।’ एसियाली विकास बैंक (एडीबी) ले पनि जोखिम मोलेर पानी नपठाउन भनेको लामिछानेले सुनाएकाे खबर कान्तिपुरमा छ ।