उदयपुरको वेलकामा मलामी लिएर फर्किएको बस दुर्घटना, २६ जना घाइते

मूलखबर संवाददाता
उदयपुर, ८ असाेज

उदयपुरको वेलका नगरपालिका-८ स्थित सेतिखोलामा मलामी लिएर फर्किएको बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।

घाइतेमध्ये २० जनाको नगर अस्पताल रामपुरमा उपचार भइरहेको र बाँकी ६ जनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक मौषम उदाशले जानकारी दिएका छन्।

प्रदेश १-०२-००१ ख ८२५३ नम्बरको बस करिब दिउँसो १२ बजेतिर मलामी लिएर फर्किने क्रममा सडकदेखि १२ मिटर तल गएर पल्टिएको थियो। बसमा कति यात्रु थिए भन्ने तथ्यांक संकलन गर्ने काम भइरहेको प्रहरी निरीक्षक उदाशले जानकारी दिए।

दुर्घटना परेको बसले मंगलबार बिहान पालिकाको ५ नम्बर वडामा रहेको घुम्ने भन्ने ठाउँबाट मलामी लिएर सप्तकोशी गएको थियो। सोही क्रममा मलामी लिएर फर्किने क्रममा बस दुर्घटनामा परेको हो।

दुर्घटना के कारणले भएको हो भन्ने खुलिसकेको छैन। बसका चालक समेत घाइते भएको हुँदा थप विवरण बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।