मुगु साक्षर जिल्ला घोषणा

मूलखबर संवाददाता
काठमाडौं

मुगु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले साक्षर घोषणा कार्यक्रममा मुगुलाई ६५ औं साक्षर जिल्ला घोषणा गर्नुभएको हो ।

साक्षर घोषणा भएकाहरुमध्ये देशभरमा मुगु ६५औँ जिल्लामा पर्दछ भने साविकको कर्णालीका पाँच जिल्लामा पहिलो जिल्लाको रुपमा पर्दछ । उक्त साक्षर कार्यक्रमको अवसरमा प्रदेश सामाजिक विकासका मन्त्री भण्डारीले बोल्दै कर्णाली प्रदेश सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

मुगुको एक नगरपालिका र तीन वटा गाउँपालिकालाई साक्षर घोषणा गरिएसँगै जिल्लालाई पनि साक्षर घोषणा गरिएको हो । छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामका अनुसार हाम्रो साक्षरता दर १५ देखि ६० वर्ष उमेरका जनसङ्ख्यालाई लिइएको बताउनुभयो ।

साक्षर हुनको लागि १२ वटा सूचकहरुमध्ये छ वटा अर्थात् ५० प्रतिशत सूचक पूरा भएपछि साक्षर जिल्ला घोषणा गरिएको उहाँले बताउनुभयो ।

साक्षर कार्यक्रममा मुगुका खत्याड गाउँ पालिकाका अध्यक्ष अजबहादुर शाही, मुगुम कार्मारोङ गाउँपालिकाकी उपाध्यक्ष छेजुम लामा, सोरु गाउँ पालिकाका उपाध्यक्ष केशरजंग शाही, प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, त्यसैगरी जिल्लाका सुरक्षा निकायका प्रमुख, विभिन्न स्थानीय तहका शिक्षा शाखाका प्रमुख, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिलगायतको सहभागिता थियो ।