युराेप पठाउने भन्दै लाखाैं ठगी गर्ने २ जना पक्राउ

मूलखबर संवाददाता
काठमाडौं, ३१ साउन

नेपालीले नेपाली नै ठग्छन् भन्ने भनाइलाई पुष्टि गर्दै वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी इटाली, रोमानिया र दुबई लगायतका देशहरूमा पठाउने भनी ठगी गर्ने २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा स्थायी घर सुर्खेतको चिङगाढ गाउँपालिका वडा नं. ५ भई हाल ललितपुर बस्ने ३२ वर्षीय सुरेश राना र स्थायी घर सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका वडा नं. २ भई हाल काठमाडौँ गोकर्णेश्वर बस्ने ३३ वर्षीय राजेश विष्ट पक्राउ परेका छन् ।

प्रहरीका अनुसार राना १५ लाख ९३ हजार ५०० रुपियाँ र विष्ट एक लाख ८० हजार रुपियाँ लिई सम्पर्कविहीन भएका थिए । उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।