कक्षा १२ काे नतिजा प्रकाशित, ५२ प्रतिशत पास, पुरक परीक्षा भदौ २५ मा

मूलखबर संवाददाता
काठमाडौं, १८ साउन

उच्च शिक्षाको लागि महत्त्वपूर्ण प्रवेशद्वार मानिने कक्षा १२ काे परीक्षामा सहभागी विद्यार्थीहरूमध्ये झन्डै आधा विद्यार्थी फेल भएका छन् । कक्षा १२ मा ४७.८४ प्रतिशत विद्यार्थी फेल भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नियमिततर्फको नतिजाअनुसार ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थी सहभागी भएकामा २ लाख ३ हजार ८ सय ४७ (५२.१५ प्रतिशत) पास भएका छन् भने १ लाख ८७ हजार २१ (४७.८४ प्रतिशत) फेल भएका छन् ।

तर गत वर्षको तुलनामा ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या र माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्या क्रमशः वृद्धि हुँदै गएकाले समग्र नतिजा सुधारोन्मुख हुँदै गएको बोर्डका अध्यक्ष महाश्रम शर्माकाे दावी छ ।

नतिजा अनुसार माथिल्लो स्तरको ३.६१ देखि ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ९ हजार ५ सय ९१ रहेको छ । सबैभन्दा धेरै विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन् । ७८ हजार ७५ छात्रछात्राले उक्त जीपीए ल्याएका बोर्डले जनाएको छ । २.४१ देखि २.८० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ६१ हजार ३६ छ । ३.२१ देखि ३.६० जीपीए प्राप्त गर्ने ४६ हजार ८ सय ९३ रहेका छन् । २.१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८ हजार २ सय ४० रहेको छ भने सबैभन्दा तल्लो स्तरको जीपीए १.६१ देखि २ ल्याउने विद्यार्थीको संख्या १२ जना रहेको छ ।

नन्ग्रेडिङ भएका १ लाख ८७ हजार २१ विद्यार्थीमध्ये १ लाख २७ हजार ७ सय ७ जना विद्यार्थी दुई विषयसम्म नन्ग्रेडिङ भएका हुन् । दुई विषयमा नन्ग्रेडिङ हुने विद्यार्थीको पूरक परीक्षा भदौ २५ र २६ गते सञ्चालन हुने बोर्डले जनाएको छ । दुई विषयसम्म अनुपस्थित भएका विद्यार्थीले पनि पूरक परीक्षामा सामेल हुन पाउने शर्माले बताए ।

गत असारमा प्रकाशित एसईई र अघिल्ला वर्षहरूको कक्षा १२ को नतिजाको तुलनामा सामान्य सुधार भएको छ ।  एसईईमा ४७.८७ प्रतिशत विद्यार्थी पास भएका थिए भने ५२.१३ प्रतिशत विद्यार्थी फेल भएका थिए ।

गत वर्ष कक्षा १२ को परीक्षामा सहभागी ३ लाख ७२ हजार ६ सय ३७ विद्यार्थीमध्ये ५०.९१ प्रतिशत अर्थात् १ लाख ८९ हजार ७ सय ११ जनाले ग्रेड प्राप्त गर्दै उच्च शिक्षामा भर्ना हुन योग्य ठहरिएका थिए । त्योभन्दा अघिल्लो साल ४८.१० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।