वैदेशिक राेजगार पीडा: मनाेसामाजिक समस्या बढ्दाे

मूलखबर संवाददाता
काठमाडौं, २ साउन

नेपालकाे प्रमुख आम्दानीको श्राेत बनेको वैदेशिक रोजगारीमा जाने र गएर फर्केका नेपाली नागरिक मनाेसामाजिक समस्याबाट ग्रसित हुन थालेका छन् ।

बैदेशिक राेजगार विभागको तथ्याङ्कअनुसार वैदेशिक रोजगारीका लागि नेपाली सबैभन्दा धेरै खाडी देश तथा मलेसिया जाने गरेका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार नेपाली सबैभन्दा धेरै साउदी अरब गएको पाइएको छ ।

डेढ दशकको अवधिमा वैदेशिक रोजगारीका क्रममा झन्डै साढे १० हजार जनाभन्दा बढी श्रमिकले ज्यान गुमाएको सरकारी प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये झन्डै १२ दशमलव ७५ प्रतिशतको आत्महत्याका कारण ज्यान जाने गरेको तथ्याङ्क छ । आत्महत्या गर्ने व्यक्तिमा कुनै न कुनै किसिमको मनोरोग भएको पाइन्छ । सामीअन्तर्गतको सेवाको विश्लेषणमा मनोसामाजिक समस्याको कुरा गर्दा सबैभन्दा धेरै झन्डै ६० प्रतिशतभन्दा बढी पीरचिन्ताको समस्या भएको देखिएको छ । उदासिनता अर्थात् ‘डिप्रेशन’ को समस्या २० प्रतिशतमा पाइएको छ ।

यसभित्र आत्महत्याको जोखिम र प्रयासको समस्या ३ प्रतिशत भएको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालले जनाएको छ । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाका परिवारलाई आघातपूर्ण घटना, गुमाएकाका परिस्थितिका कारण पनि समस्या, स्वास्थ्य समस्या र अत्यधिक कामको बोझले दिने तनाव, वैदेशिक रोजगारीमा जाँदा लिएको ऋण, ठगीका कारण पनि मनोसामाजिक समस्या हुने गरेको छ । वैदेशिक रोजगारीमा काम गर्दागर्दै मनोसामाजिक समस्या देखिन थालेपछि कतिपय कामदार स्वदेश फर्किने पनि गरेका छन् । वैदेशिक रोजगारीमा गएका कामदार र उनीहरूको परिवारमा चिन्ताको समस्यादेखि आत्महत्या गर्ने प्रयासका घटना बढी नै पाइएको छ ।

सीएमसी नेपालकी कार्यक्रम संयोजक मनोविद् स्मृति घिमिरेका अनुसार समाजमा परिवारको कुनै एक सदस्य वैदेशिक रोजगारीका लागि गएपछि उसको अनुपस्थितिमा घरमा हुनेलाई जिम्मेवारी थपिने तर यसबारे न परिवारले बुझ्छ न समाजले । बरु उल्टै नचाहिँदा आरोप र प्रत्यारोप लगाएर उसलाई मानसिक रूपमा तनाव दिने काम गरिरहेको पाइन्छ । त्यसैगरी बच्चालाई पनि बुबा वा आमा एक जनाले मात्र हुर्काउँदा जिद्दीपना पनि आउने गरेको देखिएको छ । परिवारका ज्येष्ठ नागरिकलाई विदेशमा जाने आफ्नो छोराछोरी वा बुहारी वा नातिनातिनाले ज्यान गुमाउने पो हो कि भन्ने डर र चिन्ताले भित्रभित्रै सताउने गरेको भेटिएको छ । घिमिरे भन्नुहुन्छ, ‘योबीचमा आएका सबै समस्यासँग जुध्दै अघि बढ्ने क्रममा यो सबै कुरा सामना गर्न सके राम्रो हो तर सामना गर्न नसकेमा भने मानसिक रूपमै समस्या हुने हो । त्यसैले उनीहरूलाई आफ्नो वरपर रहेका सबैको साथ र सहयोगको आवश्यकता पर्छ । यदि नपाएमा मनोसामाजिक समस्या निम्तने जोखिम धेरै हुन्छ ।’

वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई कमाउन नसकेर फर्केको भन्ने जस्ता लाञ्छना लाग्ने गरेकाले मनमा चोट लाग्ने गरेको पाइएको छ । सबैको वैदेशिक रोजगारीको यात्रा सुखद नहुन सक्छ । त्यसैले कति कमाएको, किन नकमाएको, कामउनैपर्छ भन्ने जस्ता दबाब परिवारको तर्फबाट सिर्जना हुँदा पनि उनीहरूलाई मनोसामाजिक समस्या हुन सक्छ । जसले गर्दा कतिपयले समस्या समाधानको उपाय भन्दै आत्महत्याको बाटोसमेत रोज्ने गरेको पाइन्छ । कतिपयले भने कमाएर पनि विदेशमै उल्टो खर्च गरेर रित्तै घर फर्कने अनि घरको आवश्यकता पूरा गर्न नसक्ने, ऋण तिर्न समस्या हुने जस्ता समस्या भएपछि तनावका कारण मानसिक रूपमा विक्षिप्त हुन पुग्छन् । तर मनोपरामर्शकर्ताले भेटेर परामर्श दिन थालेपछि उनीहरूमा सकारात्मक परिवर्तन आएको धेरै उदाहरण छन् । सामी कार्यक्रमले उनीहरू लयमा नआउन्जेलसम्म परामर्श दिने गरेको छ ।