सिमलताल दुर्घटना : बस भेटिएनन्, १७ शव भेटिए, ९ काे सनाखत
चितवनकाे सिमलतालमा पहिराेमा परि बेपत्ता भएका बसहरू एक हप्ता पुग्न लाग्दा अझैसम्म भेटिएका छैनन् ।
गत शुक्रबार त्रिशूली नदीमा खसेका दुइटा बसमा सवार ६५ जना यात्रुमध्ये १७ वटा शव फेला परेको छ।
तीमध्ये ९ जनाको सनाखत भएको छ भने ६ पुरूष र २ महिलाको भने सनाखत हुन बाँकी रहेको एपिएफ सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
हालसम्म सनाखत हुनेमा भारतका २८ वर्षीय ऋषिपाल साह, चितवनका २२ वर्षीय विकास परियार, सर्लाहीका १९ वर्षीय रमितकुमार माझी, भारतका ३० वर्षीय जयप्रकाश ठाकुर, भारतकै ३० वर्षीय सजाद अन्सारी, बाराका ४३ वर्षीय परमान्नद पण्डित, चन्द्रनिगाहपुरका ४३ किशोर कुमार चौधरी (गणपतिका चालक) र भरतपुरका २२ वर्षीय सुदिप विक छन्। १७ वर्षीय फिरोज राहुप मिया भनिएकाको शव भने दुई फरक आफन्तले दाबी गरेकाले दुबिधा भएको हो।
वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स नदीमा खसेका थिए।