प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे सभामुखद्वारा संसद‍्मा जानकारी

मूलखबर संवाददाता
काठमाडौं

सभामुख देवराज घिमिरेले असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनेबारे संसद‍्मा जानकारी गराउनु भएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री ‘प्रचण्ड’बाट असार २८ गते विश्वासको मतका लागि प्रस्ताव राख्ने जानकारी आएको भन्दै सो दिन प्रतिनिधिसभा बैठक आह्वान गरेको जानकारी गराउनु भयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम असार २८ गते शुक्रबारका दिन प्रतिनिधिसभाको बैठकमा विश्वासको मतको लागि प्रस्ताव राख्ने जानकारी प्राप्त भएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धनसहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको छ। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। उसले मन्त्रीहरूलाई राजीनामा गराएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। सहमतिअनुसार दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्नेछन्।

सहमतिअनुसार संसदको बाँकी समय पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। त्यसपछि चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन्।