लगातार वर्षा : राजमार्ग, मध्य पहाडी लोकमार्ग, सडकहरु अवरुद्ध
शनिवार बिहानदेखि परेको वर्षासँगै बिपी राजमार्ग र मध्य पहाडी लोकमार्ग अवरुद्ध बनेको छ ।
बिपी राजमार्गको सुनकोसी गाउँपालिका–२ कमेरे फाँटमा सडकमा माथिबाट लेदो सहित आएको पहिरो सडकमा थुप्रिदा यातायात अवरुद्ध भएको हो । त्यस्तै मध्य पहाडी लोकमार्गको गोलन्जोर गाउँपालिका–६ स्थित अक्करे भिरमा माथिबाट ढुङ्गा, माटो, लेदो सहितको पहिरो सडका थुप्रिदा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
अरुण तेस्रो जलविद्युत आयोजनाको डाइभर्सन टनेल थुनियो
लगातार पानी परेपछि अरुण नदीमा आएको बाढीले अरुण तेस्रो जलविद्युत आयोजनाको डाइभर्सन टनेल थुनिएको छ ।
मकालु गाउँपालिका ५ फ्याक्सिन्दामा निर्माणाधीन बाँध निर्माण क्षेत्रको टनेल थुनिदा अस्थायी बाँधमा पानी भरिएको छ । अहिले उक्त बाँधमा पानी भरिएर करिब ७ सय मिटरको ताल बनेको मकालु गाउँपालिका अध्यक्ष ओङ्दी छिरिङ भोटेले जानकारी दिनुभयो ।
फ्याक्सिन्दामा बाँध निर्माणको लागि ४२९ मिटरको डाइभर्सन टनेल निर्माण गरिएको थियो ।
बेनी जोमसोम कोरला कालिगण्डकी कोरिडोर सडक अवरुद्ध
लगातारको वर्षाले गर्दा ठाउँ ठाउँमा झरेको पहिरोले सडक अवरुद्ध हुँदा बेनी जोमसोम कोरला कालिगण्डकी कोरिडोर सडकको सोझो यातायात सेवा अवरुद्ध भएको छ ।
रघुगंगा गाउँपालिका–३ बैसरीमा सडक माथिबाट आएको पहिरोले गर्दा सडक अवरुद्ध भएको हो । राती देखि नै पहिरो झरेको कारणले गर्दा सोझो यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने पर्यटकहरू अलपत्र परेका छन् । लगातार पहिरो झरी रहेको कारणले गर्दा सडक खुलाउन समस्या भई रहेको बेनी जोमसोम कोरला कालिगण्डकी कोरिडोर सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । रघुगंगा गाउँपालिकाको वडा नं. १ र २ को सिमाना बाट झरेको पहिरोले रघुगंगा –२ बैशरीमा सडक अवरुद्ध भएको उहाँको भनाई छ ।
प्रमुख राजमार्गसहित आधा दर्जन सडक अवरुद्ध
शुक्रबार रातिबाट परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा पर्ने प्रमुख राजमार्गसहित आधा दर्जन सडक अवरुद्ध भएको छ । झरीपछि आएको पहिरोले प्रदेश राजधानी पोखरा प्रवेश गर्ने पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग पहिरोले अवरुद्ध बनेको हो ।
पृथ्वी राजमार्गको तनहुँ खण्डमा पर्ने म्याग्दे गाउँपालिका वडा –४ को मनोहरीमा हिलो बाटोमा ट्रक र बस फसेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र रेग्मीले पृथ्वी राजमार्गसहित प्रदेशका मुख्य राजमार्ग र केही सडक अवरुद्ध बनेको जानकारी दिनुभयो । “सबै अवरुद्ध सडकमा प्रहरी खटाएर पहिरो पन्छाउने काम भइरहेको छ, वर्षा जारी रहेकाले काम गर्न कठिनाइ भएको छ” उहाँले भन्नुभयो ।
सिद्धार्थ राजमार्गको स्याङ्जा खण्ड पहिरोका कारण चार ठाउँमा अवरुद्ध भएको छ । बेंसीशहर मनाङ सडक, मालढुंगा बेनी, बेनी दरबाङ र बेनी जोमसोम सडक पनि बाढी र पहिरोका कारण बन्द छन् । बेंसीशहर चामे सडकमा मस्र्याङ्दी –४ हावाडाँडामा पहिरोले बाटो बन्द छ । मालढुंगा वेनी सडकको कुश्मा नगरपालिका वडा –१ मालढुंगामा पहिरो आएको छ । बेनी जोमसोम सडकमा रघुगंगा ३ बैसरीमा लेदोसहित पहिरोले बाटो बन्द छ ।