कांग्रेस-एमाले सहमति असंवैधानिक र अलाेकतान्त्रिक – सापकोटा

मूलखबर संवाददाता
काठमाडौं, २१ असार

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सहमति असंवैधानिक र अप्राकृतिक भएको बताएका छन् ।

पार्टीको प्रचार विभागका ईन्चार्ज समेत रहेका सापकोटाले विभागकाे बिहीबारकाे छलफलमा धारणा राख्दै संविधानमा बलियाे प्रतिपक्षकाे कल्पना गरिएको र त्यसकाे लागि दुई ठूला दल मध्ये  एउटा सत्तापक्षमा र अर्को प्रतिपक्षमा रहने कुरा प्राकृतिक हुने बताउँदै अहिले भएको भनिएकाे गठबन्धन संवैधानिक हुन नसक्ने दावी गरे ।

उनलेे याे गठबन्धन अलाेकतान्त्रिक र सत्तालिप्सामा केन्द्रीत भएको समेत आराेप लगाएका छन् । उनले आफुलाई लाेकतान्त्रिक दल दावी गर्ने कांग्रेस र एमालेले मध्येरातमा गरेको भनिएकाे सहमति चार दिनसम्म सार्वजनिक गर्न नचाहने र आफ्नो बैठकमा समेत नदेखाउने कार्य अलाेकतान्त्रिक नै भएको बताए ।

उनलेे एमाले अध्यक्ष केपी ओेलीले प्रधानमन्त्रीलाई पुरै ढाँटेर झुक्याएकाे र गम्भीर धाेका दिएको बताए । माओवादी अध्यक्ष प्रचण्ड एमालेसहितकाे वाम एकताको लागि प्रतिवद्व भएको तर एमाले अध्यक्ष ओली माओवादी सक्ने नियाेजित षड्यन्त्रमा रहेकाे पुष्टि भएको उनले बताए ।

उनलेे प्रधानमन्त्री प्रचण्डले तत्काल राजिनामा नदिने र संवैधानिक अधिकार प्रयाेग गर्दै संसदबाट विश्वासकाे मत फेस गर्ने स्पष्ट पारे । उनले त्यसपछि राष्ट्रपतिले संविधानकाे धारा ७६ काे उपधारा ३ बमाेजिम नै सरकार निर्माणकाे आव्हान गर्नुपर्ने बताए ।

उनले माओवादी प्रतिपक्षमा बसेर जनताको पक्षमा काम गर्न तयार रहेकाे र आगामी निर्वाचनमा विजय प्राप्त गर्न लाग्ने बताए ।