एमालेले फिर्ता लियाे समर्थन, मन्त्रीले बुझाए सामुहिक राजिनामा
सत्तारूढ घटक नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारमा गएका मन्त्रीहरूलाई राजिनामा गर्न लगाएको छ ।
एमालेले सो दलबाट सरकारमा सहभागी सबै आठजना मन्त्रीले प्रधानमन्त्री प्रचण्डसमक्ष बुधबार सामुहिक राजीनामा बुझाएका हुन् ।
त्यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा सहभागी मन्त्रीहरूलाई सामूहिक राजीनामा दिन निर्देशन दिएका थिए । मङ्गलबार अध्यक्ष ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले २४ घण्टाभित्र पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको थियो ।
यसअघि पार्टी अध्यक्ष ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रधानमन्त्री प्रचण्डलाई पठाएका थिए । प्रधानमन्त्री प्रचण्डले संवैधानिक व्यवस्था अनुसार संसद बैठकमा विश्वासको मत लिने बताइसकेका छन् ।