नेकपा (एस)को युवा संघ फुट्यो, माधव पक्षले बनायो समानान्तर समिति, खनाल पक्षले गर्यो कार्वाही
माधव नेपाल नेतृत्वको नेकपा (एस) को युवा संघ फुटेको छ । एकीकृत समाजवादीको १०औँ महाधिवेशन नजिकिँदै गर्दा युवा संघभित्र विवाद चर्किएको छ।
संयोजक कृष्ण विक र सहसंयोजक नितेश पौडेल समूहबीच विवाद चर्किएपछि अन्तत युवा संघ फुटेको हो । विवाद चर्किँदै जाँदा सहसंयोजक पौडेलले समानान्तर कमिटी निर्माण घोषणा गरेका छन् भने र पौडे पक्षलाई संस्थापक विक पक्षले कार्वाही गरेको छ ।
असन्तुष्ट पौडेल समूहले शनिबार काठमाडौंमा राष्ट्रिय भेला गरेर नेतृत्व तोकेका छन्। पौडेल समूहले संयोजक नितेश पौडेल र सहसंयोजक फुर्वा लामालाई तोकेका छन्। पार्टी अध्यक्ष माधवकुमार नेपालसँग सल्लाह गरेरै भेला गरिएको पौडेल पक्षका एक नेताले बताए।
युवा संघको संस्थापन पक्षले कारबाही गरेको छ। संयोजक विकको अध्यक्षतामा शनिबार बसेको आकस्मिक कार्यालय बैठकले सहसंयोजक पौडेलसहित कार्यालय सदस्य रोशन थापालाई कारबाही गरेको छ।
प्रेम प्रधान, फुर्वा लामा, प्रेमा लामालगायतलाई तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको कार्यालय सदस्य सुशील भट्टराईले जानकारी दिए।
संघका पूर्वउपाध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य हस्त शाही अवैधानिक भेलामा उपस्थित भई समानान्तर कमिटी घोषणा गरेकोमा पार्टी केन्द्रीय कमिटीलाई कारबाही गर्न संघले माग गरेको छ।
संयोजक विक पार्टीका सम्मानित नेता झलनाथ खनालनिकट हुन् भने सहसंयोजक पौडेल अध्यक्ष माधवकुमार नेपालका भान्जा हुन्।