लुम्बिनी पुग्यो श्रमाधान मेला, अब सुर्खेत, धनगढी र पाटन बाँकी

मूलखबर संवाददाता
काठमाडौं, २४ जेठ ।

नेपालमा युवाहरुको संखया बढ्दो छ । युवाहरुको संख्या बढेसँगै रोजगारीको अपर्याप्तताले गर्दा युवाहरुको विदेश पलायन पनि बढ्दो छ । सरकाले युवाह्ररुलाई स्वेशमै रोजगारी सिर्जना गर्नको लागि सातै पदेशमा श्रमाधान मेला आयोजना गरेको छ । कोशी प्रदेशको विराटनगरबाट जेठ १७ गते शुरु भएको श्रमाधान मेला १९ गते मधेश प्रदेशको जनकपुर, २१ गते गण्डकी प्रदेशको पोखरा हुँदै २३ मा लुम्बिनी प्रदेशको बुटबलमा शुरु भएको छ । श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा शुरु भएको मेला हरेक प्रदेशमा दुई दिन चल्ने गरि तय गरिएको छ ।

बुटवलमा बुधबारदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु भएको हो । मेलाको एक समारोहका बिच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्नुभयो ।

बिहीबारसम्म सञ्चालन हुने मेलाको उद्घाटन गर्दै मन्त्री अर्यालले नेपालमा रोजगारीका अवसर हुँदाहुँदै पनि युवाहरू विदेशमा रोजगारीमा जान बाध्य भइरहेको बताउँदै अब नेपालमै रोजगारीका अवसर सिर्जना गर्ने रोजगारदाता र श्रमिकले पहल गर्नुपर्ने बताउनुभयो ।

उहाँले रोजगारदाता र श्रमिकबिचको खाडल गहिरो रहेको बताउँदै त्यसलाई कम गरेर नेपालमै रोजगारी खोज्न श्रमाधान रोजगार मेलाले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले हाम्रा विश्वविद्यालयले अब सिपमा आधारित शिक्षा दिनुपर्ने बताउनुभयो ।

मास्टर डिग्री गरेका युवाहरू सिप नभएकै कारण नेपालमा काम नपाउँदा विदेश पलायन हुन बाध्य भइरहेकाले अब सिपमा आधारित शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको मेला भोलि बिहीबारसम्म सञ्चालन हुने छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसङ्घ र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा श्रमाधान रोजगार मेला भएको हो ।

रोजगार मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याउने विश्वास लिइएको छ । मेलामा बेरोजगार युवाको ज्ञान, सिप, क्षमताका आधारमा विवरण सङ्कलन पनि गरिने छ ।

श्रम तथा रोजगार कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद खनालले रोजगारी खोज्ने र रोजगारदातालाई जोड्ने गरी मेलाको आयोजना गरिएको बताउनुभयो ।

मेलामा करिब २० हजार मानिसको सहभागिता हुने र सात सय जनाले मेलाबाट रोजगार प्राप्त गर्न सक्ने अपेक्षा आयोजकले गरेका छन् । मेलामा रोजगारदाताको सूचीकरण र रोजगारीका अवसरको पहिचान गरिने छ ।